बागलुङ । गण्डकी प्रदेश स्तरीय तेस्रो न्यायिक भेला ६ बुँदे लोमन्थाङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
मुस्ताङ जिल्लाको लोमन्थाङ गाउँपालिकाले लोमन्थाङमा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय तेस्रो न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा न्याय सम्पादनमा देखिएका समस्या, चुनौती, समन्वय र सहजीकरणको विषयमा छलफल गरिएको थियो ।
घोषणापत्रको पहिलो बुँदामा न्यायिक समितिको उजुरी, कारबाही र निर्णयहरूको डिजिटल अभिलेख राखी त्रैमासिक रूपमा मुद्दाको प्रगति विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
गण्डकी प्रदेश न्यायिक समिति मञ्चको विधान तयार भएको हुँदा प्रदेश सरकारबाट स्वीकृति लिई संस्थागत रूपमा अगाडि बढ्ने बताइएको छ । न्यायिक समितिको भूमिका पर्यटन, आर्थिक विकास, उत्पादन र रोजगारीमा जोड्दै सामाजिक न्याय प्रदान गर्ने, मेलमिलाप पद्धतिलाई प्राथमिकतासाथ प्रयोग गर्दै विभिन्न स्थानमा रहेको परम्परागत न्याय प्रणालीलाई समेत वर्तमान मेलमिलाप पद्धतिसँग आवद्ध गरी संस्थागत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी आगामी न्यायिक सम्मेलनमा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कुनै ५ वटा न्यायिक समितिलाई सम्मान गर्दै जाने परम्पराको थालनी उल्लेख गरिएको छ । चौथो न्यायिक सम्मेलन स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा २०८३ भाद्र महिनामा गर्ने निर्णय गरिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको भेलामा प्रदेशको ११ जिल्लाका ८५ स्थानीय तहमध्ये ६१ स्थानीय तहका उपप्रमुखहरूको सहभागिता रहेको थियो ।
भेलामा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुले लोमान्थाङका सम्भावना, अवसर र चुनौतीका विषयमा मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले गर्न सक्ने हरसम्भव प्रयास र सम्बोधन गरिरहेको भन्दै केही कामहरू कानुनी अड्चनका कारण गर्न नसकिएको बताउनुभयो । संघ सरकारको मातहतमा रहेका जग्गा जमिनमा प्रदेश सरकारले संरचना निर्माण गर्न नमिल्ने कानुनी प्रावधानका कारण गण्डकी प्रदेशको विकास र सम्भावना बोकेको कोरला नाकामा भन्सार कार्यालय समेत निर्माण गर्न कठिनाइ भएको उहाँको भनाइ थियो ।
सीमानामा चिनले ठूला–ठूला संरचना निर्माण गर्दा नेपालतर्फ त्रिपालमा व्यापार गर्नुपर्ने, सुरक्षाकर्मीका लागि ओत लाग्ने संरचना निर्माण गर्न समेत कठिनाइ भएको भन्दै मुख्यमन्त्री पाण्डेले केही समय पहिले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको बताउनुभयो ।
भेलाका सहभागीलाई लोमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
