• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

प्रि–मनसुन, सास्ती र पूर्ववत सचेतता

सम्पादकीय । अघिल्लो साता यता देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध हुनुका साथै कतिपय स्थानमा अप्रिय दुर्घटना समेत भए । यसक्रममा यात्रुहरुले कैयन राजमार्ग र ग्रामीण सडकहरुमा सकस र सास्ती खेपे । कति शहरका बस्ती र सडकहरुमा भल बग्यो । वर्षासँगै बीपी राजमार्ग बन्द भयो । १२ र १३ वैशाखका दिन रोशी खोलामा आएको बाढीले दुई पटक सम्म डाइभर्सन बगाए पछि सवारी आवागमन ठप्प भयो । अलपत्र यात्रुहरुले चरम सास्ती बेहोरे ।

अहिले खोलाबाटै डाइभर्सन बनाएर यातायात चलाइएको छ । यो राजमार्ग आसपास जब वर्षा हुन्छ, खोलामा बाढी आउनासाथ सवारी रोकिने अवस्था निरन्तर चलिरहने देखिएको छ । सोही नियति अहिले मुग्लिन–काठमाडौं सडक खण्डका विभिन्न क्षेत्रमा छ । छिमेकी जिल्ला बेनी–जोमसोम सडकको म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिका–३ जलजलेमा यातायात एकतर्फी खुला छ । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका–८ भरेङडाँडामा गएको पहिरोले राजमार्ग अवरुद्ध रह्यो । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिकै ढुंगा खस्दा यातायात प्रभावित भयो । वर्षायाम सुरु नहुँदै प्रि–मनसुनबाट भएको क्षति र असरबाट सरकार र नागरिकले यथेष्ट पाठ लिएर पूर्ववत सचेतता र तयारी गर्नुपर्ने जरुर देखिएको छ ।

नेपालका सडक राजमार्गहरुको दुर्भाग्य नै हो कि हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य भएर चरम सास्ती र अप्रिय दुर्घटना वर्षेनी बेहोर्नु पर्छ । यसपटक पनि प्रिमनसुनले नै वर्षायाममा पुग्ने क्षति र असरका संकेत देखाइसकेको छ । वर्षाका कारण मुख्य राजमार्गहरूमा यातायात कष्टकर बन्दा यात्रा असहज मात्र बनेको छैन, जोखिम पनि निम्त्याएको छ । गत बिहीबार रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको सडक दुर्घटनाको स्थलगत प्रकृति हेर्दा पनि दुर्घटनामा कच्ची र हिलाम्य सडक अवस्थातर्फ संकेत गर्छ । जहाँ जीप दुर्घटना हुँदा घटनास्थलमै २० जनाको मृत्यु भएको थियो । नेपालमा प्रत्येक वर्ष मनसुन र प्रिमनसुन अवधिमा सडक दुर्घटनाको दर उल्लेख्य रूपमा बढ्ने गरेको तथ्यांकले देखाउँछ । नेपाल प्रहरीका विवरणअनुसार वर्षेनी हजारौं सवारी दुर्घटनामा पर्छन्, जसमा ठूलो हिस्सा ग्रामीण तथा पहाडी सडकमा हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पनि नेपालमा सडक दुर्घटनाबाट वार्षिक हजारौंले ज्यान गुमाउने गरेका छन्, र वर्षायाममा यसको जोखिम अझ बढ्छ । कच्ची सडक, तीव्र उकालो–ओरालो, मोडिलो भूगोल, र यात्रुको अत्यधिक चाप (ओभरलोड)ले दुर्घटना निम्त्याउने प्रमुख कारक हुन् ।

नेपालका नागरिकको अकालमै मृत्यु हुने मुख्य कारण मध्येमा पर्छ सडक दुर्घटना । र, यस्तो दुर्घटना बर्खायाममा बढी हुने गर्दछ । देशको सडकको दुर्दशा विगतका भन्दा सुधार र स्तरोन्नति भएका छन् तर, अपेक्षाकृत रुपमा प्रगति र उपलब्धि हुन सकेको छैन । एकातर्फ सडक मर्मत र नवनिर्माण गर्दा एकसाथ धेरै स्थानमा सडक भत्काउने र निर्माणको गति कम हुँदा सानो वर्षाले नै सडकमा सास्ती निम्त्याउने गरेको छ । सडक मर्मतमा वार्षिक ६ अर्बमाथि खर्च छ । यद्यपि, सास्ती उस्तै छ । उसो त ग्रामीण क्षेत्रमा घर घरमा सडक पु¥याउँदा जमिन कमजोर हुने, भूक्षय र बाढी आउने कारणले पनि अप्रिय दुर्घटना निम्त्याउने गरेको छ । दुर्घटनाग्रस्त जोखिमपूर्ण क्षेत्रमा बाह्रैमास अनुसन्धान र जोखिम न्यूनीकरणका काम नहुँदा हरेकवर्षजसो एउटै खालको समस्या दोहोरिने गरेको छ ।

नेपालमा दुर्घटना भएपछि मात्रै दुःख समवेदना व्यक्त गर्ने, केही सक्रिय हुने तर, दुर्घटना रोकथामको पक्षलाई अझै योजनाबद्ध प्राथमिकता दिएको देखिदैन । प्रिमनसुनसँगै अब सडकहरू चिप्ला हुने, पहिरो झर्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले जोखिमबारे पूर्वतयारी र जनचेतनामा ध्यान केन्द्रित गर्नुपर्छ । सडकको मर्मत सुधार, ओभरलोड नियन्त्रण, सवारीको नियमित प्राविधिक परीक्षण र जोखिमयुक्त सडकमा सवारी सञ्चालनमा समयसीमा लागू गर्नुपर्छ । यात्रु स्वयं पनि जोखिमपूर्ण सवारी प्रयोग नगर्ने संस्कार विकास गर्न जिम्मेवार बन्न जरुरी छ ।