बागलुङ । पर्वतको कुश्मा नगरपालिका–१ माझमेलामा इभी गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
म्याग्दीको बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी पर्वतको कुश्मा नजिक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार तीव्र गतिमा गुडिरहेको सवारी चिप्लिएर सडक नालीमा खसेपछि दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा म्याग्दी बेनी नगरपालिका–४ का ६० वर्षीया देवी खत्री, पोखरा महानगरपालिका–१३ का ५५ वर्षीय लालवीर दमै, २५ वर्षीया सीता परियार, पर्वत जलजला गाउँपालिका–२ की ३८ वर्षीया लिला परियार र उनका आठ वर्षीय छोरा दिप्सन परियार रहेका छन्।
यसैगरी ४९ वर्षीय विष्णु दमाई, १९ वर्षीया सुस्मिता दमाई, पोखरा महानगरपालिका–१० की ३८ वर्षीया सुशीला थापा र ५० वर्षीया लिला थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
सबै घाइतेहरूको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अधिकांशको टाउको तथा हातखुट्टामा चोट लागेको छ भने उनीहरूको अवस्था मध्यम रहेको छ ।
