• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्न धौलागिरि अस्पतालको आग्रह

बागलुङ । धौलागिरि प्रादेशिक अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गालीगलौज, धम्की तथा अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै उपचारका क्रममा असन्तुष्टि वा गुनासो भए सम्बन्धित निकायमा औपचारिक रूपमा उजुरी दिन आग्रह गरेको छ ।

अस्पतालले बिरामी तथा सेवाग्राहीलाई उपचारमा संलग्न चिकित्सक, नर्सिङ कर्मचारी तथा अन्य कर्मचारीमाथि गालीगलौज गर्ने, धम्की दिने, अभद्र व्यवहार गर्ने, भिडियो बनाउने, सामाजिक सञ्जालमा हाल्ने तथा चरित्रहत्या गर्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेको छ । विज्ञप्तिमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार स्वास्थ्यकर्मीमाथि हुने यस्ता गैरकानुनी गतिविधि गर्न नपाइने उल्लेख गर्दै यस्तो कार्य गरे प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ ।

अस्पताल प्रशासनले कुनै पनि गुनासो वा सुझाव भए सम्बन्धित शाखामा सम्पर्क गर्न तथा आवश्यक परे कानुनी उपचारको बाटो अपनाउन आग्रह गरेको छ । साथै अस्पताल प्रशासनको पूर्वस्वीकृति बिना अस्पताल परिसरभित्र फोटो, भिडियो वा अडियो रेकर्ड नगर्न समेत अनुरोध गरिएको छ । अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज रूपमा सेवा प्रवाह गर्न सक्ने वातावरण सिर्जना गर्न सबै सेवाग्राही तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।