बागलुङ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व सहित अगाडि बढेको नेपाली कांग्रेसले यतिबेला जरा अभियान सञ्चालन गरेको छ ।
मुल रुपमा ८ वटा विषयमा केन्द्रीत हुने गरी जरा अभियान सञ्चालन गरेको कांग्रेसमा यतिबेला वडा तहसम्मको संगठन सुदृढीकरण र सदस्यता प्रदान तथा नविकरणलाई प्राथमिकता दिइएको छ । कांग्रेसको जरा अभियानका लागि केन्द्रले केन्द्रीय प्रतिनिधि र प्र्रदेशले प्रदेश प्रतिनिधि समेत चयन गरेर जिम्मेवारी दिएको छ । यसैक्रममा बागलुङमा जरा अभियान सञ्चालनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिको वैठक बसेर अभियान शुरु भएको छ ।
कांग्रेसले क्षेत्रीय कार्यसमिति र वडा कार्यसमितिलाई जरा अभियानलाई प्रभावकारी रुपमा टोल टोलमा पु¥याउने गरी अगाडि बढ्न निर्देशन गरेको जिल्ला सचिव हरिहर शर्माले बताउनुभयो । केन्द्र र प्रदेशको निर्देशन अनुसार जिल्ला कार्यसमितिको वैठकले थप योजना निर्माण गर्न तथा अभियानलाई व्यवस्थित रुपमा अगाडि बढाउन जिल्लाका दुइवटै क्षेत्रीय समितिलाई आग्रह गरेका छौ, सचिव शर्माको भनाई छ,–‘कांग्रेसलाई युवा पुस्ताको आकर्षणको केन्द्र बनाउने गरी अभियान सञ्चालन गर्न अब कांग्रेसको सिंगो टिम परिचालन हुन्छ ।’
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले जरा अभियानलाई प्रभावकारी गराउने विषयमा सुझाव संकलन सहित क्षेत्रीय समितिको वैठकबाट वडाका लागि प्रतिनिधि चयन गरेको छ ।
क्षेत्रीय समितिको वैठकले सबै वडामा सदस्यता वृद्धि, संगठन निर्माण र पार्टीले सञ्चालन गरेको जरा अभियानको मर्म अनुसार अगाडि बढ्ने निर्णय गरेका छौ, सभापति चण्डीप्रसाद शर्माले भन्नुभयो,–‘बैठकको निर्णय अनुसार अबका गतिविधि टोल टोलमा गर्दैछौ ।’ जरा अभियान सञ्चालनका विषयमा आव्हान गरिएको वैठकमा फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजय हुनुमा को दोषी छ ? भन्दै सहभागीहरुले प्रश्न गरेका छन् । चुनावको यथार्थ समिक्षा बिना अगाडि बढ्दा फेरी पनि पार्टी सही ठाउँमा पुग्दैन, सहभागीहरुले सचेत बनाएका छन् ।
विशेष महाधिवेशन पक्षधरले पार्टी कब्जा गरेका कारण चुनावमा पराजय भएको विषय पनि वैठकमा उठेको छ । जेन जी आन्दोलनपछिको संकटपूर्ण अवस्थामा पार्टीलाई एकढिक्का बनाएर लैजानु पर्नेमा एक पक्षले जवरजस्ती गरेका कारण निर्वाचनमा हार भएको हो, एक सहभागीले बताए । सुधारिएको कांग्रेस भन्दै नयाँहरुको नेतृत्वमा चुनावमा गएको कांग्रेस पछारिए पछि बल्ल जरा अभियान सञ्चालन गर्ने चेत आएको छ, पार्टी एक ढिक्का नहुदा चुनावमा सफलता प्राप्त हुदैन भन्ने कुरा नयाहरुले बुझ्नु पर्ने आवाज वैठकमा उठेको छ । अझै पनि संस्थापन पक्ष पेलेर जाने मनस्थितिमा रहेको बुझ्न सकिन्छ, यदी त्यसो भयो भने पार्टी, कार्यकर्ता र देशलाई नै क्षति हुन्छ भन्ने कोणबाट विषय उठेको ति सहभागीले बताए ।
बिशेष महाधिवेशनबाट नयाँ नेतृत्व सहित चुनावमा गएका कारण आज कांग्रेस बचेको छ, अर्का सहभागीले भने, –‘यदी पुरानै नेतृत्व लिएर जनताका बीचमा गएको भए निर्वाचनमा अहिलेको भन्दा अझ धेरै क्षति हुन्थ्यो ।’
ऋण लागेपछि परिवारमा झगडा हुन्छ भन्ने प्रचलन छ, चुनावमा पराजित भएपछि पार्टीहरुमा एकले अर्कालाई दोष लगाउने, आरोपित गर्ने विगतकै परम्परा हो, कांग्रेसमा पनि यतिबेला यस्तै आरोप प्रत्यारोप चलेको छ, वैठकका एक सहभागीले आदर्शसञ्चार अनलाइनसंंगको कुराकानीमा बताए । चुनावमा पराजित हुनुका कारणहरुको यथार्थ समिक्षा गर्दै अगाडिका योजना र कार्यक्रम बनाउने, विगतमा भएका कमी कमजोरी सुधार गर्दै थप शसक्त रुपमा अगाडि बढ्न बैठकका धेरै सहभागीहरुले सुझाव दिएका छन् ।
२१ जनाले आफ्नो विचार राख्नु भयो, सबैको सकारात्मक सल्लाह सुझाव आएको छ, विगतमा भएका कमी कमजोरी सुधार्न के गर्न सकिन्छ, पार्टीले सञ्चालन गरेको जरा अभियानलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कोणबाट नै सहभागीहरुको भनाइ आएको छ, अब थप शसक्त भएर अगाडि बढ्ने योजनामा छौ, क्षेत्रीय सभापति शर्माको भनाइ छ ।
कांग्रेसले लोकतन्त्र, राष्ट्रियता, संघीयता, नागरिकको पार्टी प्रतिको विश्वास, सामाजिक एकता र पार्टीको जरा बलियो बनाउने गरी देशव्यापी रुपमा जरा अभियान सञ्चालन गरेको गण्डकी प्रदेश कार्यसमितिका सदस्य तेज बहादुर कुँवरले जानकारी दिनुभयो ।
वैठकमा जरा अभियानका बारेमा केन्द्रीय प्रतिनिधि कृष्ण बहादुर केसीले सहजीकरण गर्नु भएको थियो । बागलुङ क्षेत्र नं. १ का ३७ वटा वडामा चयन भएका प्रतिनिधिहरुलाई प्रविधिमैत्री सदस्यता नविकरण लगायतका विषयमा विज्ञहरुद्वारा सहजीकरण गरिने कांग्रेसले जनाएको छ ।
