बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “शक्तिशाली सोच” (Powerful Thinking) सम्बन्धी युवा सहभागिता कार्यक्रम सञ्चालन गर्ने भएको छ । सिवाइसी नेपालसँगको सहकार्यमा युवालाई उक्त कार्यक्रम सञ्चालन गर्न लागेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममार्फत युवाहरूलाई सकारात्मक सोचको विकास, करिअर काउन्सिलिङ, नेतृत्व क्षमता अभिवृद्धि तथा काम गर्ने संस्कार र संस्कृति सिकाइने शर्माको भनाई छ । यसका लागि संस्थाले प्रशिक्षार्थी (सामाजिक परिचालक) तथा प्रशिक्षार्थी (वरिष्ठ सामाजिक परिचालक) पदमा आवेदन खुलाएको हो । प्रशिक्षण दुई महिना सम्म सञ्चालन गरिने छ । संस्थाले सामाजिक परिचालकतर्फ १५ जना र वरिष्ठ सामाजिक परिचालकतर्फ १० जना गरी कुल २५ जना प्रशिक्षार्थी छनोट गर्ने जनाएको छ । छनोट भएका व्यक्तिलाई दुई महिनासम्म सेवा अवधिमा दैनिक कार्यभत्ता उपलब्ध गराउने छ । साथै विभिन्न विषयमा तालिम र व्यवहारिक अभ्याससमेत गराइने शर्माले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलका अनुसार कार्यक्रमले युवालाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्दै आत्मनिर्भर बन्ने तथा पुराना राम्रा संस्कार र संस्कृति सिक्नपनि प्रेरित गर्ने अपेक्षा गरिएको जानकारी दिनुभएको छ ।
