• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

‘एमाले उठ्नका लागि नीति, कार्यक्रम र नेतृत्व फेर्नुपर्छ’

  • २०८३ बैशाख २५, शुक्रबार
टेक नारायण पौडेल दयालुबेङ्गलोर सहर, भारत
टेक नारायण पौडेल दयालु बेङ्गलोर सहर, भारत

जबज तत्कालीन परिस्थितिमा शक्ति पृथकीकरणको हिसाबमा जननेता मदन भण्डारीले ल्याउनु भएको लोकतान्त्रिक कार्यक्रम हो, जतिबेला संसारमा इन्टरनेट थिएन । पूर्वी युरोप र सोभियत संघ ढलेको बेला थियो । साम्राज्यवाद र साम्यवादको घमासानको युग थियो। त्यसपछि संसारमा र नेपालमा पनि निकै ठूला परिवर्तन भए । विज्ञान र प्रविधि अनि अर्थशास्त्रीय सोचमा उतारचढाव आयो, परिवर्तन आयो तर माधव नेपाल, झलनाथ खनाल र केपी ओलीहरूको नेतृत्वले त्यही जबज र वृद्धभत्ताको ब्याजमाथि नेतृत्व लिइरह्यो । कमिटी संरचना त परिवर्तन गर्यो तर समयअनुसार नीति तथा कार्यक्रम परिमार्जित गर्ने तर्फ लागेन ।

राजतन्त्रकालीन कार्यक्रम र गणतान्त्रिक कालको कार्यक्रम फरक हुन्छ र हुनपर्छ भन्ने बुझेनन् । यसैले एमालेको आज यो हालत भयो । मदन भण्डारी आज हुनुहुन्थ्यो भने गणतन्त्र आउनासाथ जबज समयानुकूल परिमार्जन गर्नुहुन्थ्यो । माधव, केपी, झलनाथको नेतृत्वले त्यो गर्न सकेन। ठूलो जनमत मदन भण्डारीको प्रभावले एमाले भएको थियो र त्यो कार्यकर्ता पङ्क्तिले आजसम्म पनि कसैले एमालेमाथि प्रहार गर्छ भने गर्दन पहिले थाप्न तम्सिन्छ । त्यसपछि को कार्यकर्ता र जनमानसमा त्यो खालको जुझारुपन छैन। वैचारिक स्पष्टता छैन ।

मदन भण्डारीको समय अगाडिको कार्यकर्ता पङ्क्ति बूढो भैसक्यो । जनमत प्रभावित पार्ने खालको सामथ्र्य पनि छैन र सिद्धान्ततः माक्र्सवादलाई जडको रुपमा जपेर बस्छ । अहिलेको नयाँ पुस्ता अर्थात् जेन जि हरू कुनै पनि विचारको तहगत फेदसम्म पुग्दैनन् र हाहा र हुहुमा आफ्नो धारणा र निर्णय गर्दछन् ।

तमिलनाडुको अहिलेको चुनावी परिणामले पनि नेपालको अस्तिको चुनाव जस्तै त्यही परिणाम देखायो । एउटा सिनेमाको हिरोले २ वर्ष पहिला स्थापना गरेको पार्टीले दशकौँसम्म राज्यमा त्याग, बलिदान, संघर्ष र विकासका परिणाम दिइरहेका दललाई विस्थापन गर्यो। सायद अरु राज्यमा पनि यस्तै टपरटुइया हरू कसैले पार्टी बनाएर चुनावमा गएको भए सायद यही हाल हुन्थ्यो होला ।

यसैले अब एमालेले यी कामहरू गर्नुपर्ने देखिन्छ ः
नेतृत्व तेस्रो पुस्ताको बनाउनु पर्छ ।
मिडिया मैत्री कार्यक्रम बनाउनु पर्छ ।
अल्गोरिदम प्रयोग पार्टी हितमा गर्नुपर्छ ।
अनलाइन सदस्यता र नवीकरणको नीति बनाउनु पर्छ ।
प्रवासी नेपाली संगठन विघटन गरी जिल्ला–जिल्लामा संगठित गर्ने नीति बनाउनु पर्छ ।
उम्मेदवार प्राइमरी इलेक्सन मार्फत चयन गर्नुपर्छ ।
अल्गोरिदम दस्ता केन्द्रदेखि वडासम्म जनसङ्गठनको रुपमा खडा गर्नुपर्छ ।

कम्युनिस्ट पार्टी बलियो भएर मात्र होइन, कम्युनिस्ट आचरण, समयानुकूल नीति, नेतृत्व, कार्यक्रम, कार्यनीति फेरेर समाजमा सकारात्मक परिवर्तन ल्याउने सबै चिज पार्टीको नीति हुनुपर्छ। कम्युनिस्ट पार्टी स्थापना गर्दा ८०% गरिबी थियो भने अहिले १७% गरिबी छ । अब गरिब गरिब भनेर हुँदैन, मध्यम आय भएका को प्रतिनिधित्व हुनु पर्छ । हाम्रो पार्टी कहाँ थिएन र ? तर हार्यो ।

टोलसम्म पार्टी थियो । विद्यार्थीमा, युवामा, महिलामा, जनजाति, दलित, किसान, चिकित्सक, पूर्वसुरक्षाकर्मी, मजदुर, लेखक, कलाकार, पिछडावर्ग, शिक्षक, प्राध्यापक, निजामती, संस्थान, यातायात व्यवसायी, सुकुम्बासी, पत्रकार, कानुन व्यवसायी, निर्माण व्यवसायी, वन, खानेपानी, सिँचाइ, प्रवास सबै क्षेत्रमा पार्टी थियो । आकाश पाताल चौध भुवनमा पार्टी थियो त । राज्यका अङ्गभन्दा बढी एमालेका विभागहरू थिए ।

तर किन हारियो ? खै यो विषयमा समीक्षा ?

अहिले सरकार बनेपछि मैले बुझ्नै नसकेको कुरा—प्रतिपक्ष भनेको के हो ? यो संसदमा कम संख्या भएको, सरकारमा सामेल नभएको भए पनि जनता प्रति जिम्मेवार राजनीतिक शक्ति होइन र ? बिचल्लीमा परेका जनता बीच कम्तीमा सहानुभूति लिएर पुग्नुपर्ने शक्ति होइन र ? कि संसदमा बहुमत नपाएपछि राज्य, जनताको समेत प्रतिपक्ष बनेर बस्ने हो र ? पुरानो अझै कम्युनिस्ट पार्टी त परिपक्व, जिम्मेवार, संवेदनशील, व्यावहारिक शक्ति हुनुपर्ने होइन र ?

प्रतिपक्षले सरकारको कामको निगरानी गर्नुपर्छ । सरकारको नीति, कार्यक्रम र निर्णयको समीक्षा गर्दै गल्ती भए सुधार गर्न दबाब दिनुपर्छ । जनताको समस्या र आवाज संसददेखि मिडिया, सामाजिक सञ्जालदेखि सडकसम्म उठाउने काम गर्नुपर्छ । वैकल्पिक नीति प्रस्तुत गरेर सरकारलाई उत्तरदायी र पारदर्शी बनाउनुपर्छ । प्रतिपक्षले लोकतन्त्रमा सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ । प्रतिपक्ष लोकतन्त्रको एक महत्वपूर्ण अङ्ग हो, जसले सरकारलाई सही मार्गमा राख्न मद्दत गर्छ । सरकार असफल भयो भने हामी सबै जना असफल हुने हो । देश नै असफल हुने हो । यो हुन नदिने प्रतिपक्षको काम हो ।

यस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्ने दायित्व बोकेको एमाले प्रतिपक्ष किन निष्क्रिय ? यो हुनु लोकतन्त्रका लागि शुभ संकेत होइन । पार्टीका लागि पनि शुभ संकेत होइन ।

बेलैमा चेतौँ

  • २०८३ बैशाख २५, शुक्रबार