• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

निजी क्षेत्र, नयाँ नेतृत्व र अपेक्षा

सम्पादकीय । उद्योगी व्यवसायीहरुको छाता र साझा संस्था नेपाल उद्योग बाणिज्य महासंघले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको ६०औँ वार्षिक साधारणसभाबाट अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक अन्तिम हो । र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

गण्डकी प्रदेश तथा पर्यटकीय राजधानी पोखराका अञ्जन श्रेष्ठको नेतृत्व पाउनु गण्डकीका लागि त सुखद विषय हो नै, महासंघले अब कति कुशल र प्रभावकारी हिसाबले व्यावसायिक नेतृत्व गर्छ ? परीक्षा सुरु भएको छ । सडक किनारमा नाङ्लोमा पुष्टकारी र मिठाई बिक्री गर्दै व्यवसायमा आएको परिवारको विरासत बोकेका अञ्जनको व्यावसायिक घराना ‘लक्ष्मी ग्रुप’ देशकै अग्रणी समूहमा पर्छ । त्यसैले सानादेखि ठूला उद्यमी व्यवसायीको मर्म एकसाथ बोक्न सक्ने विश्वासका कारण उद्योगी व्यवसायी उत्साहित छन् । देशभरिका उद्यमी, व्यवसायीको संस्था भए पनि नेपाल उद्योग बाणिज्य महासंघमा मुख्यतः राजधानीकै वर्चस्व हुँदै आएको छ । राजधानीबाहिरबाट पनि नेतृत्वमा पुग्ने विरलै उदाहरणहरूमध्ये अञ्जन श्रेष्ठले आफ्नो नाम दर्ज गरेका छन् । उसो त यसअघि उनी वरिष्ठ उपाध्यक्ष भएकाले महासंघको अध्यक्षको जिम्मेवारी प्रति उच्च भरोसा देखिएको छ । मुलुकमा स्थिर सरकार आए पनि नेपाली अर्थतन्त्रमा अन्यौल र संशय व्याप्त देखिएको छ ।

यसमा अन्तर्राष्ट्रिय चाप त छँदै छ, कोभिडबाट थलिएर तंग्रिन नपाउँदै ‘जेन–जी’ आन्दोलनका क्रममा भएको विध्वंसबाट समेत त्रसित छ । त्यसमाथि झन्डै दुईतिहाइको सरकारले केही उद्यमी व्यवसायीलाई पक्राउ गरेपछि निजी क्षेत्र सशंकित बनेको छ । उद्योगी व्यवसायीको मनोबल गिरेको अवस्था र इरान–इजरायल युद्धले आपूर्ति शृंखला खलबलिएको समय छ । यस अवस्थामा आएको महासंघको नेतृत्वलाई आउँदा दिनहरू पक्कै सहज छैनन् । आन्तरिक रूपमा पनि उच्च ब्याजदर, तरलता अभाव, घट्दो उपभोग र लगानीमैत्री वातावरणको अभावले निजी क्षेत्र शिथिल प्रायः छ ।

मुलुकको अर्थतन्त्र अहिले यस्तो मोडमा छ, जहाँ सरकारसँग सामञ्जस्य मिलाउँदै अघि बढ्ने निजी क्षेत्र र यसको नेतृत्व अपेक्षित छ भने अर्कोतर्फ सरकारले पनि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढेमा मात्र समृद्धिको सपना साकार हुने अवस्था छ । पछिल्लो समय त उद्योगी व्यवसायी भनेको त राज्यमा राजश्व छलेर ब्रह्मलुट गर्ने पात्रको रुपमा ‘करार’ गर्न खोजिएको छ । यहाँ व्यवसायबाट धन सम्पत्ति कमाउनु पनि ‘अपराध’ जस्तो हुन थालेको छ । जेनजी आन्दोलनसम्म आइपुग्दा यसले ठुलो भय, त्रास र अनिश्चितता पैदा गरेको छ । निजी क्षेत्र भनेको कर तिर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो भन्ने न त सरकारले गहिराइमा बुझेको छ, न आम जनतामा नै सकारात्मक धारणा देखिन्छ ।

केही विकृतिकै कारण सिंगो निजी क्षेत्र बदनाम हुनु या गरिनु दुर्भाग्यपूर्ण छ । गलत गर्ने उद्योगी व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ । तर, केही व्यक्ति र घटनाकै कारण सिंगो निजी क्षेत्रलाई बदनाम र असुरक्षित बनाउनेतर्फ उद्धत हुने प्रवृत्ति खतरानक छ । यस परिवेशमा नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्न आवश्यक छ । स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण चाहिएको छ । सरकारको विश्वास आर्जन गर्ने र सरकारले पनि निजी क्षेत्रलाई विश्वास गर्ने वातावरण आजको अपरिहार्यता हो । निजी क्षेत्रमैत्री बन्ने भन्ने तर कानुनी र प्रशासनिक झमेलाबाट मुक्त नगरिदिने प्रवृत्ति लगायतमा महासंघको नयाँ नेतृत्वले सरकारसँग सेतुको काम गर्दै मर्यादित निजी क्षेत्रको संरक्षणमा भूमिका खेल्नुपर्छ । समग्रमा, महासंघले निजी क्षेत्रको हकहितको पैरवीका साथै राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि प्रभावकारी भूमिका खेल्न सकोस् ।