सम्पादकीय । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा, जसलाई एसईई भनिन्छ,को नतिजा सार्वजनिक गरेको छ । चैत १९ देखि २९ गतेसम्म भएको परीक्षाको नतिजा एक महिनामै सार्वजनिक भयो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सम्भव भयो । सोमबार साँझ सार्वजनिक नतिजा अनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जुन संख्या कुल २ लाख ८४ हजार १६० हो ।
यो नतिजा विगतको भन्दा सुधारिएको हो । गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षामा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ जना नन–ग्रेडेड भएका छन् । गत वर्ष १ लाख ६७ हजार ५९७ जना नन–ग्रेडेड भएका थिए । नतिजा छिटो आउने चर्चा थियो, धेरैलाई विश्वास थिएन । नयाँ सरकारले जस पाउने गरी नतिजा अपेक्षाकृत रुपमा सार्वजनिक गरेको छ ।
परीक्षा सकिएको छोटो समयमै नतिजा सार्वजनिक हुनु सकारात्मक संकेत हो । उत्तरपुस्तिका परीक्षणलाई परीक्षा केन्द्रमै गर्ने अभ्यासले प्रशासनिक ढिलासुस्ती कम गरेको छ र विद्यार्थी तथा अभिभावकको प्रतीक्षालाई छोट्याएको छ । सार्वजनिक प्रशासनमा दक्षता र प्रविधिमैत्री सुधारको सन्देश दिने यो कदम स्वागतयोग्य छ । नतिजामा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । तर, सुधार र नन–ग्रेडेड विद्यार्थीको संख्या केही घट्दैमा विद्यालय तहको सिकाइमा उल्लेख्य सुधार आएको भन्न सकिदैन । एसईई नेपालको शिक्षा प्रणालीभित्र अझै पनि केवल परीक्षा होइन, सामाजिक मनोविज्ञान, पारिवारिक दबाब र भविष्यको भयसँग गाँसिएको एउटा संवेदनशील मोड बनेर रहिरहेको छ । नेपालमा एसईईलाई “फलामे ढोका” भन्ने पुरानो भाष्य अझै पूर्ण रूपमा हटेको छैन । एसईई परीक्षा विद्यार्थीको आत्मविश्वास, पारिवारिक प्रतिष्ठा र सामाजिक तुलनाको विषय बनाउने गरिन्छ । हरेक वर्षको नतिजा सार्वजनिकसँगै उत्साह मात्रै होइन, तनाव, निराशा र मानसिक दबाबसँगै अप्रिय घटनाहरु पनि निम्त्याउने गरेको छ ।
एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई समाजले वाहवाही गर्छ, अपेक्षित नतिजा नआएका विद्यार्थीले आफूलाई असफल ठान्ने अवस्था सिर्जना गर्छ । एउटा १५–१६ वर्षको किशोरको सम्पूर्ण क्षमता, सिर्जनशीलता र भविष्यलाई तीन घण्टे लिखित परीक्षाको नतिजाले मात्र मापन गर्न खोज्नु आधुनिक शिक्षाको मर्मसँग मेल खाँदैन । अब विद्यार्थीलाई सैद्धान्तिक प्रश्नको उत्तर दिनेमा सीमित गरेर मेसिन बनाउने होइन, जीवन बुझ्ने, निर्णय लिन सक्ने र समाजसँग संवाद गर्न सक्ने दक्ष नागरिक बनाउने शिक्षा आजको आवश्यकता हो । अब शिक्षा प्रणालीलाई केवल नतिजा सुधारको प्रतिस्पर्धाबाट बाहिर निकाल्नुपर्छ । धेरै विद्यार्थी आफ्नो रुचिभन्दा सामाजिक दबाबका आधारमा विज्ञान वा व्यवस्थापन रोज्न बाध्य हुने प्रवृत्ति व्याप्त छ । अब एसईईपछि विषय छनोट र करिअर मार्गदर्शनलाई व्यवस्थित बनाउनु अत्यावश्यक छ । विद्यालय तहदेखि नै रुचि, क्षमता र सम्भावना अनुसारको परामर्श प्रणाली विकास गर्न सके मात्र शिक्षा जीवनोपयोगी बन्न सक्छ ।
