बागलुङ । स्थित धौलागिरि प्रादेशिक अस्पतालमा एकै पटक ४२ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
अस्पतालले सञ्चालन गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया कार्यक्रममार्फत ४२ जनाको आँखाको ज्योति पुनः फर्काइएको हो । विशेषज्ञ सेवासँगै विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्दै आएको अस्पतालले पछिल्लो समय आँखा रोगसम्बन्धी सेवा पनि प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जनाएको छ ।
धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार नियमित उपचारका क्रममा मोतियाविन्दुको समस्या पहिचान भएका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको हो । उहाँले अस्पतालमा पछिल्लो समय नियमित आँखा ओपीडी सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
शिविरमा बागलुङ जिल्लासहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका ४२ जना बिरामी लाभान्वित भएका छन् । सोमबारदेखि सुरु भएको शल्यक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको र बिरामीलाई आवश्यक परामर्शसहित घर पठाइएको डा. तिवारीले बताउनुभयो ।
विभिन्न मितिमा चार जिल्लामा सञ्चालन गरिएको स्क्रिनिङ शिविरमार्फत शल्यक्रिया गर्नुपर्ने बिरामीको पहिचान तथा लगत सङ्कलन गरिएको थियो । आँखा परीक्षणका क्रममा मोतियाविन्दु देखिएका बिरामीलाई अस्पतालमा बोलाएर शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो ।
शल्यक्रिया कार्यक्रममा हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल उपल्लाचौर, बागलुङको प्राविधिक सहयोग रहेको थियो । हिमालयन आँखा अस्पताल पोखराका कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट डा. नारायणी भट्टराई रोकाको संयोजकत्वमा विशेषज्ञ टोलीले शल्यक्रिया सम्पन्न गरेको हो ।
शल्यक्रियापछि सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरि प्रादेशिक अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट डा. कुशल गुरुङले जानकारी दिनुभयो । अस्पतालले हाल आँखा रोग विभाग सञ्चालनमा ल्याएर नियमित उपचार सेवा पनि दिँदै आएको छ ।