• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

पर्यटनलाई डिजिटल प्रविधिसँग जोड्न सुझाव

बागलुङ । पर्यटन क्षेत्रलाई समयअनुकूल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
शुक्रवार बागलुङमा होटल व्यवसायी संघ बागलुङले पृथ्वी होटल व्यवसायी समिति कास्की सँगको सहकार्यमा आयोजना गरेको आन्तरिक पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पर्यटन व्यवसायलाई डिजिटल माध्यमसँग जोड्नु आजको आवश्यकता भएको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा बागलुङ नगरपालिका का उपप्रमुख राजु खड्का ले पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह, व्यवसायी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोबताउनु भयो । उहाँले होटल तथा पर्यटन व्यवसायलाई डिजिटल प्रविधिमार्फत विश्व बजारसम्म पु¥याउन सकिने उल्लेख गर्दै सामाजिक सञ्जाल, वेबसाइट तथा अनलाइन बुकिङ प्रणालीको प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय रैथाने बाली, कला, संस्कृति तथा प्राकृतिक सम्पदालाई डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्न सके पर्यटन क्षेत्रले थप गति लिने धारणा राख्नुभयो पोखरा र बागलुङका पर्यटकीय गन्तव्यहरूको संयुक्त सूची तयार गरी साझा पर्यटन योजना अघि बढाउनुपर्नेमा समेत उनले जोड दिनुभयो । त्यसैगरी होटल व्यवसायी संघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले व्यवसायीबीच सहकार्य र आधुनिक प्रविधिको प्रयोगले पर्यटन तथा होटल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।
“पोखरा जाऔँ, प्रकृतिसँग रमाऔँ” भन्ने नारासहित सञ्चालन गरिएको पर्यटन प्रवद्र्धन भ्रमणअन्तर्गत आयोजित कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोतिप्रसाद श्रेष्ठले यस्ता कार्यक्रमले विभिन्न जिल्लाबीच पर्यटन अनुभव आदान–प्रदान तथा व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका सचिव निलेश राजभण्डारीले बागलुङका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका उपाध्यक्ष नवीनकुमार श्रेष्ठ, धौलागिरि प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष श्रीप्रसाद शर्मा, राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगाएतले मन्तव्य राख्नुभएको थियो । पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोती प्रसाद श्रेष्ठको स्वागत, बागलुङ होटल व्यवसायी संघका उपाध्यक्ष ललिता थापाको धन्यवाद र पृथ्वी होटल व्यवसायी समिति कास्कीका महासचिव शोभाकान्त चापागाईको संचालनमा सम्पन्न भएको थियो ।