बागलुङ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल–भूटान अन्तर्गत जोन १६ को जेडआरआर पद रोट्रयाक्ट क्लब अफ बागलुङले प्राप्त गरेको छ । जोन १६ को जेडआरआर पदका लागि अन्य कुनै दाबी वा विरोध नपरेकाले उम्मेदवारी दिनु भएका रोट्रयाक्ट क्लब अफ बागलुङका निवर्तमान अध्यक्ष सौरभ के.सी. निर्विरोध रूपमा चयन हुनुभएको हो ।
यससँगै रोट्रयाक्ट क्लब अफ बागलुङले तेस्रो पटक जेडआरआर पद हासिल गर्न सफल भएको छ । यस अघि क्लबका पूर्वअध्यक्ष दिपेन्द्रबहादुर घिमिरे तत्कालीन जोन ४ तथा पूर्वअध्यक्ष तारा प्रसाद शर्मा तत्कालीन जोन १७ को जेडआरआरको जिम्मेवारीमा रहनुभएको थियो । हाल जोन १६ अन्तर्गत १७ वटा रोट्रयाक्ट क्लबहरू आबद्ध रहेका छन् । नव निर्वाचित जेडआरआर सौरभ केसीले सम्पूर्ण क्लबहरूको समन्वय गर्दै जोनका समस्या, आवश्यकता र योजनाहरूलाई डिस्ट्रिक्ट तहसम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हालै सम्पन्न चितवन सौराहामा सम्पन्न रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को १८औँ डिस्ट्रिक्ट सम्मेलनमा केसीलाई औपचारिक रूपमा जेडआरआर घोषणा गरिएको थियो । यसैगरी, जोन १६ ले आगामी रोटा वर्ष २०२७÷२८ का लागि डिआरआर पदमा गौरव सुवेदीलाईपनि चयन गरेको छ ।
उक्त पदकालागि प्रतिस्पर्धामा रहेका पाँच जना उम्मेदवार मध्ये निर्वाचन प्रक्रिया मार्फत सुवेदी विजयी हुनुभएको हो । यस उपलब्धिसँगै रोट्रयाक्ट क्लब अफ बागलुङले “सन्तोष मेमोरियल डिस्ट्रिक्ट क्वीज” को उपाधि समेत जित्न सफल भएको छ । रोट्रयाक्ट क्लब अफ पर्वतका पूर्वअध्यक्ष स्वर्गीय सन्तोष पौडेलको स्मृतिमा रोट्रयाक्ट डिस्ट्रिक्टद्वारा आयोजना हुँदै आएको उक्त प्रतियोगितामा यस वर्ष रोट्रयाक्ट क्लब अफ बागलुङ विजयी बनेको हो । क्वीज प्रतियोगितामा विजयी बनेको टोलीलाई क्लबल सम्मान गरेको थियो । सम्मानित हुने हरूमा क्लबका अध्यक्ष सुनिल गौतम, असिम खत्री, रोजिना खड्का, तारा के.सी. तथा मनोज गौतम लगायत रहनुभएको थियो ।
सम्मान कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटानका डीएलसी मेम्बर तथा रोट्रयाक्ट क्लब अफ बागलुङका पूर्वअध्यक्ष सुस्मिता के.सी., नवनिर्वाचित जेडआरआर सौरभ के.सी., जोन १७ का पूर्व जेडआरआर तथा पूर्वअध्यक्ष तारा प्रसाद शर्मा, पूर्वअध्यक्ष शिवबहादुर केसी र झोकेन्द्र थापा मगरले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुनिल गौतमको अध्यक्षता सदस्य शिव शर्माको स्वागत, सचेतक कुशल कँडेलको धन्यवाद मन्तव्य र सचिव मनोज उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।
