बागलुङ । बागलुङमा विद्यालयस्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बागलुङ सम्पदा अङ्कित स्पोट्र्सले आगामी जेठ ८ र ९ गते ‘प्रथम एसईई कप अन्तर विद्यालय फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको हो ।
संस्थाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय तहमा रहेका प्रतिभावान खेलाडीलाई खेल एक्सपोजर प्रदान गर्ने, फुटबलप्रति आकर्षित गराउने तथा भविश्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । विशेषगरी शैक्षिक सत्र २०८२ को एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरेर बागलुङ बजारस्थित रस आवर फुटसल खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ ।
संस्थाका अनुसार प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन तयारी भइरहेको छ । प्रतियोगितामा खेल अवधिभर खेलप्रेमीको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद रु. १५ हजार, ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ८ हजार, ट्रफी, रजत पदक र प्रमाणपत्र पाउनेछन् । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत आकर्षक ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहने अनुमान गरिएको छ भने कुल अनुमानित बजेट रु. १ लाख २५ हजार रहेको विज्ञप्तिमा उल्लेख छ । आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय सरकार, बुद्धिजीवी, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, खेलप्रेमी तथा विभिन्न संघसंस्थासँग आर्थिक, नैतिक र प्रायोजन सहयोगको अपेक्षा गरेको छ ।
बागलुङ सम्पदा अङ्कित स्पोट्र्स प्रोपाइटर सौगात खड्का, जिल्ला फूटवल संघ बागलुङका उपाध्यक्ष विकास थापा र नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रोहन जिसीले गर्नुभएको थियो ।