म भर्खरको एक युवक हुँ…
आँखाभरि हजार सपना,
मनभित्र आगो जस्तो अठोट,
र मुटुभरि परिवार, समाज अनि देशलाई
केही फर्काएर जाने अधुरो प्रण बोकेर हिँडिरहेको युवक ।
म धनी घरमा जन्मिएको होइन,
तर धनी सपना बोकेर जन्मिएको हुँ ।
आमाको चाउरी परेको निधार पढ्दै,
बुवाको पसिनाको गन्ध सुग्दै,
गरिबीले सिकाएको पाठ कण्ठ गर्दै
म ठूलो भएको हुँ ।
मेरो बालापन
खेलौनाले होइन, अभावले खेलेको थियो।
मेरा रहरहरू
दराजमा थन्किएका कपडा जस्तै थन्किए,
किनकि घरमा
आवश्यकता धेरै थिए,
सपना पूरा गर्ने पैसा कम थियो।
तर पनि….
मैले सपना देख्न छोडिनँ।
म चाहन्थेँ—
एकदिन आमाको हातमा
औषधि होइन, सुनौलो आराम राख्न।
बुवाको काँधमा
जिम्मेवारी होइन, गर्व राख्न।
भाइबहिनीको आँखामा
अभाव होइन, आत्मविश्वास देख्न।
म चाहन्थेँ
मेरो गाउँका बाटाहरूमा
विदेशिने आँसु होइन,
फर्किने खुसी देखियोस्।
समाजमा
मानिसको मूल्य पैसाले होइन,
उसको कर्मले मापन होस् ।
म चाहन्थेँ
मेरो देशका युवाहरू
रहरले विदेश जाऊन्,
बाध्यताले होइन।
देशको माटो
पसिनाले भिजोस्
आँसुले होइन।
तर जिन्दगी….
जिन्दगी कहिलेकाहीँ
असाध्यै निर्मम हुन्छ।
जब म भविष्यका योजना कोर्दै हुन्छु,
समयले चुपचाप सोध्छ—
यदि तिमी बीच बाटोमै रोकियौ भने ?
यदि म मरेँ भने….
आमाको आँखामा
फेरि कहिल्यै नसुक्ने वर्षा हुनेछ।
बुवाको मुटुभित्र
जीवनभर पोल्ने खालीपन हुनेछ।
मेरो कोठाभरि छरिएका सपनाहरू
धुलो बनेर उड्नेछन्।
मेरो मृत्यु सायद
समाचारको एउटा सानो लाइन बन्नेछ,
तर एउटा परिवारका लागि
पूरै संसार भत्किनेछ।
किनकि
घरको कमजोर छानो झैँ थिएँ म,
टुटेपछि वर्षा सबैमाथि पर्नेछ।
मेरो समाजले
फेरि एउटा संघर्षरत युवक गुमाउनेछ,
जो हार्न चाहँदैनथ्यो
तर परिस्थितिसँग दैनिक लडिरहेको थियो।
मेरो देशले
फेरि एउटा सपना गुमाउनेछ,
जो राति अबेरसम्म जागेर
कसरी केही गर्न सकिन्छ? भनेर सोचिरहेको थियो।
किनकि
देश
केवल सिंहदरबारले बन्दैन,
देश त ती युवाले बनाउँछन्
जसले आफ्ना रहर बेचेर
घर धानेका हुन्छन्।
जसले आफ्नै आँसु लुकाएर
अरूलाई हँसाइरहेका हुन्छन्।
म मर्न डराउँदिन….
तर अधुरा सपनाहरूको मृत्यु देख्न डराउँछु।
आमाको काँपिरहेको हात समाएर
अब दुःख सकियो भन्न नपाउँदै म हराएँ भने….
बुवाको पसिनाको हिसाब
फर्काउन नपाउँदै रोकिएँ भने….
मेरो समाजले आशा राखेको एउटा काँध
बीच बाटोमै ढल्यो भने…
त्यो केवल मेरो मृत्यु हुनेछैन,
त्यो त—
एउटा आमाको भरोसाको मृत्यु हुनेछ,
एउटा बुवाको संघर्षको मृत्यु हुनेछ,
एउटा परिवारको भविष्यको मृत्यु हुनेछ,
एउटा समाजको सम्भावनाको मृत्यु हुनेछ,
र एउटा देशले
फेरि अर्को सपना देख्ने युवक गुमाउनेछ।
त्यसैले म बाँच्न चाहन्छु….
धेरै बाँच्न चाहन्छु….
आफ्नो नामका लागि होइन,
ममाथि भरोसा गर्ने आँखाहरूका लागि।
किनकि
म भर्खरको एक युवक हुँ—
अझै थाकेको छैन,
अझै हार मानेको छैन,
अझै सपना मरेका छैनन्…
र मभित्र
अझै एउटा देश बाँचेको छ ।