बागलुङ । बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रुपमा विकास गर्न थालिएको छ ।
गाउँपालिकाको पहिचानको रुपमा विकास भइसकेको ढाकाको कपडा, मह लगायतका स्थानीय उत्पादनलाई बढवा दिन थालिएको छ । गाउँपालिका परिसरमा सञ्चालन भइरहेको ‘स्थानीय उत्पादन मेला २०८३’ मा स्थानीय उद्यमी आफ्ना उत्पादन देखाउन व्यस्त देखिएका छन् ।
मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष भेट गराउने अवसर जुटाएको छ । बडिगाड गाउँपालिका–७ मा दुना–टपरी उद्योग सञ्चालन गर्दै आएकी रबिना थापाले मेलालाई आफ्नो उत्पादनको प्रचार गर्ने राम्रो अवसरका रूपमा लिनुभएको छ । गाउँ नजिकैको वनमा खेर गइरहेको सालको पात प्रयोग गरेर दुना–टपरी उत्पादन गर्दै आएकी उहाँले बजार विस्तार अपेक्षाअनुसार हुन नसकेको गुनासो गर्नुभयो ।
२०७८ सालमा करिब साढे तीन लाख रुपैयाँ लगानी गरेर उद्योग सुरु गर्नुभएकी थापाले वर्षमा डेढदेखि दुई लाख रुपैयाँसम्मको कारोबार हुने गरेको जानकारी दिनुभयो । पूजाआजा र लगनका समयमा माग बढ्ने भएकाले आवश्यक पर्दा कर्मचारी राखेर उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।
यस्तै ‘थापा बहुउद्देश्यीय कृषि फर्म’ मार्फत उत्पादन भएको महलाई बजारीकरण गर्न बडिगाड गाउँपालिका–६ का जितबहादुर थापा मौरीको मह लिएर मेलामा सहभागी हुनुभएको छ । थापाले सेरेना जातका करिब एक सय घार मौरी पालन गर्दै आउनुभएको छ । उहाँले वर्षमा ६० देखि ७० घार मौरीसहित गोला विक्री गर्नुका साथै करिब सात क्विन्टल मह उत्पादन गर्ने गरेको जानकारी दिनुभयो । प्रतिकिलो मह एक हजार तीन सय रुपैयाँमा विक्री हुने गरेको भन्दै उहाँले वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार र करिब आठ लाख रुपैयाँ नाफा हुने गरेको बताउनुभयो ।
यस्तै बडिगाडको पहिचान बनिसकेको ढाका उद्योग सञ्चालक माया कुमारी केसीले ढाकाबाट बनेका कपडाको विक्री वितरण भइरहेको जानकारी दिनुभयो ।‘बडिगाड ढाका एण्ड बुटिक उद्योग’ मार्फत छ जना महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने गरिएको उहाँले बताउनुभयो । उद्योगमा रेशमका साडी, कुर्था, कोट, सल, झोला तथा टोपी उत्पादन हुँदै आएको छ । स्थानीय बजारमा मात्रै सीमित रहेको व्यापार पछिल्लो समय अनलाइनमार्फत पनि विस्तार हुन थालेको केसीले बताउनुभयो ।
स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले ‘बडिगाड स्थानीय उत्पादन मेला २०८३’ आयोजना गरिएको हो । बडिगाड गाउँपालिका का अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन, जीप र दायित्व संस्थाको सहकार्यमा साताव्यापी मेला सञ्चालन गरिएको हो ।
“महिला बडिगाड उद्यमी आइकन छनोटका लागि विभिन्न चरणका कार्यक्रम सञ्चालन गरेका छौँ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “हाल उत्कृष्ट १० को चरणमा प्रवेश गरेका छौँ । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सघाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।” गाउँपालिकाले स्थानीयका सटर भाडामा लिएर उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराएको छ ।
गाउँका उद्यमीलाई बजारसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । पोषण सप्ताहसमेत सञ्चालन भइरहेका कारण स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न र स्थानीय अन्नबाट बनेका परिकारलाई पनि मेलामा प्राथमिकताका साथ राखिएको छ । एक गतेदेखि सञ्चालित मेला जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।
