सम्पादकीय । हरित हाइड्रोजनले स्वच्छ ऊर्जाको सम्भावित स्रोतको रुपमा धेरैको ध्यान आकृष्ट गरिरहेको छ र यसलाई ‘भविष्यको इन्धन’को रुपमा समेत चर्चा गर्ने गरिएको छ । हरित हाइड्रोजन भनेको चाहिँ के हो ? यसलाई किन ‘हरित’ भनिएको हो ? यसको प्रयोग र फाइदाहरु के के हुन् ? निकै सम्भावना बोकेको ऊर्जाको यो स्रोत, यसबारे भएका प्रगति र दक्षिण एसियामा यसको सम्भावनाबारे पछिल्लो समय निकै चर्चा हुन थालेको छ । हाइड्रोजन ग्यास यातायात, ऊर्जा उत्पादन र औद्योगिक गतिविधिहरुमा प्रयोग गर्न सकिन्छ । यसलाई जलाउँदा कार्बन डाइअक्साइड जस्तो हरितगृह ग्यास उत्सर्जन हुँदैन । हरितगृह ग्यास उत्सर्जन नगर्ने वायु वा सौर्य शक्तिजस्ता नवीकरणीय ऊर्जाको प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन ग्यासलाई हरित हाइड्रोजन नाम दिइएको हो । रसायनको ऊर्जालाई विद्युतमा रुपान्तरण गर्ने एउटा उपकरण फ्युल सेलमा हाइड्रोजन ग्यासले अक्सिजनसँग प्रतिक्रिया गर्दा विद्युत् र पानीको बाफ निस्किन्छ । कार्बन उत्सर्जन नगरी ऊर्जा उत्पादन गर्नसक्ने क्षमता भएका कारण जीवाश्म इन्धनको सम्भावित स्वच्छ विकल्पको रुपमा हाइड्रोजनलाई लिइएको हो ।
बागलुङ पश्चिममा पर्ने बडिगाड गाउँपालिकाको खरबाङमा खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादनको सफल परीक्षण हुनु केवल एउटा स्थानीय समाचार होइन, यो नेपालको ऊर्जा भविष्यसँग जोडिएको महत्वपूर्ण उपलब्धि हो । खेर गइरहेको विद्युत र पानीको प्रयोग गरेर खाना पकाउन मिल्ने इन्धन उत्पादन भएसंगै नेपालले ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ भन्ने सन्देश दिएको छ । नेपाल लामो समयदेखि पेट्रोलियम पदार्थमा परनिर्भर रहँदै आएको देश हो । खाना पकाउन एलपी ग्यासको आयातमा अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । यता ग्रामीण क्षेत्रमा उत्पादन हुने विद्युत खपत नहुँदा धेरै लघु जलविद्युत आयोजना संकटमा परिरहेका छन् । यस्तो अवस्थामा बडिगाडमा गरिएको प्रयोगले खेर गइरहेको विद्युतलाई उपयोग गरेर वैकल्पिक इन्धन उत्पादन गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । यो केवल प्रविधिको परीक्षण मात्र होइन, ऊर्जा आत्मनिर्भरताको दिशामा गरिएको व्यवहारिक अभ्यास पनि हो ।
हरित हाइड्रोजनलाई विश्वभर भविष्यको स्वच्छ ऊर्जाका रूपमा हेरिएको छ । विकसित राष्ट्रहरूले उद्योग, यातायात र घरेलु प्रयोगमा यसको सम्भावना विस्तार गरिरहेका बेला नेपालमा पनि त्यसतर्फ प्रारम्भिक सफलता हासिल हुनु गौरवको विषय हो । अझ त्रिभुवन विश्वविद्यालयसहित अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यले यस परियोजनालाई थप विश्वसनीय बनाएको छ । तर यस्ता परियोजना केवल उद्घाटन र प्रचारमै सीमित हुनु हुँदैन । अहिलेको मुख्य चुनौती भनेको सुरक्षित वितरण प्रणाली, सर्वसुलभ सिलिण्डर निर्माण र व्यावसायिक विस्तार हो । उत्पादन गरिएको ग्यास आम नागरिकको पहुँचमा पु¥याउन सके मात्रै यसको वास्तविक अर्थ हुन्छ । अन्यथा, यो केवल परीक्षणमै सीमित हुने खतरा रहन्छ । राज्यले पनि अब यस्ता नवप्रवर्तनलाई नीतिगत प्राथमिकतामा राख्न आवश्यक छ । स्थानीय तह, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्दै देशका अन्य स्थानमा पनि यस्ता परियोजना अघि बढाउन सकिन्छ । नेपालमा वर्षायाममा खेर जाने विद्युतलाई हरित हाइड्रोजन उत्पादनमा उपयोग गर्न सके ऊर्जा संकट मात्र होइन, आयातित इन्धनमा निर्भरता पनि घटाउन सकिन्छ । बडिगाडले देखाएको यो बाटो केवल एउटा गाउँपालिकाको उपलब्धि होइन, सम्भावनाले भरिएको नेपालको ऊर्जा भविष्यको संकेत हो । अब आवश्यकता छ—यसलाई परीक्षणको घेराबाट निकालेर राष्ट्रिय अभियान बनाउने राजनीतिक इच्छाशक्ति र दीर्घकालीन योजनाको, यसका लागि सबै सरोकारवालाहरुको ध्यान जावोस् ।
