• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

सहकारी बैंकको निर्वाचन : तीन दलका साझा उम्मेदवार पौड्याल विजयी

  • २०८३ जेष्ठ ९, शनिबार

 बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको बागमती प्रदेश सञ्चालकमा तीन दलका तर्फबाट साझा उम्मेदवार रहेका परितोष पौड्याल विजयी हुनु भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को गठबन्धनबाट उम्मेदवार भएका पौड्यालले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतले पराजित गर्नु भएको हो । शनिवार भएको निर्वाचनमा पौड्यालले १ हजार ८२७ र घिमिरेले १ हजार ५५२ मत प्राप्त गर्नु भएको थियो ।

बागमती प्रदेश सञ्चालकका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा भने विजयी पौड्यालले भन्दा बढी मत प्रतिस्पर्धी घिमिरेले प्राप्त गर्नु भएको छ । बागमतीमा जम्मा खसेको १ हजार ३३७ मत मध्ये पौड्यालले ५८५ र घिमिरेले ७५२ मत पाउनु भएको थियो । बैंकको पछिल्लो पटक संशोधित विनियम अनुसार सात प्रदेशबाट सात जना सञ्चालक निर्वाचित हुने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार अन्य ६ प्रदेशका सञ्चालकहरु सर्वसम्मत भएका थिए । बागमती प्रदेशमा तीन दलका तर्फबाट परितोष पौड्याललाई उम्मेदवार सिफारिस भएपछि घिमिरेले प्रतिस्पर्धा गर्नु भएको थियो । तीन दलीय भागवण्डा अनुसार सात प्रदेश मध्ये कोशी, बागमती र गण्डकी एमालेलाई, मधेश र सुदुरपश्चिम नेपाली कांग्रेसलाई तथा लुम्बिनी र कर्णाली नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई भाग लगाइएको थियो । कांग्रेस र नेकपाको भागमा परेका चार वटै प्रदेशमा सर्वसम्मत भएको थियो ।

एमालेको भागमा परेको कोशी र गण्डकी सर्वसम्मत भए पनि बागमतीमा भने एमालेकै दुइ नेताहरुबीच प्रतिस्पर्धा भएको थियो । बागमती प्रदेशको निर्वाचन सकिएसंगै बैंकका ७ जना सञ्चालकहरु मध्येबाट अध्यक्ष छनोट हुने जनाइएको छ । तीन दलबीच एमालेका उम्मेदवार परितोष पौड्याललाई अध्यक्ष बनाउने सहमति भएको नेकपाका एक नेताले जानकारी दिए । २ जना विज्ञ सञ्चालकमा एमाले र कांग्रेसले एक एक जना मनोनित गर्ने सहमति भएको समेत ति सदस्यको भनाइ छ ।

  • २०८३ जेष्ठ ९, शनिबार