बागलुङ । शारीरिक रुपमा अपाङ्गता भएकी बागलुङकी एक महिलाले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन् ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले महिलाको घरमै पुगेर नागरिकता प्रदान गर्नु भएको हो । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाकी जुना नेपालीलाई प्रमुख जिल्ला अधिकारी आचार्य सहितको टिमले उहाँको घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
नागरिकता नहुँदा अपाङ्गता परिचयपत्र प्राप्त गर्न वञ्चित हुँदा सामाजिक सुरक्षा भत्ता वञ्चित भएकी जुनाले नागरिकतासँगै अपाङ्गता परिचयपत्र पनि प्राप्त गर्नु भएको छ ।
जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुन र उपप्रमुख हरिहर शर्माले जुनालाई आइतबारनै अपाङ्गता परिचयपत्र प्रदान गर्नुभएको छ ।
नागरिकता नहुँदा राज्यका सेवा सुविधाबाट वञ्चित रहेकी जुना अपाङ्गता भएका कारण प्रशासन आउन नसकेको गुनासो आएपछि विदाको दिन पारेर उहाँको घरमै पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
