बागलुङ । नेकपा एमालेको हालै सम्पन्न सचिवालय वैठकबाट पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । सचिवालयको वैठकमा प्रस्तावित जिम्मेवारी अध्यक्ष र महासचिवले समन्वय गरेर हेरफेर गर्न सक्ने निर्णय अनुसार केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको हो ।
जेठ ४ बाट सुरु भएर ८, ९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार केन्द्रीय कमिटिका सबै पदाधिकारी सदस्यहरुको जिम्मेवारी तोकिएको छ । अपानी अनुसार २९९ जना केन्द्रीय सदस्यहरुलाई पार्टीका विभिन्न विभाग, जनसंगठन, जिल्ला, प्रदेश र पालिकासम्मको जिम्मेवारी प्रदान गरिएको छ । बागलुङका ६ जना केन्द्रीय सदस्यहरु मध्ये मन कुमारी केसी जिसीलाई जिल्ला इन्चार्ज, डा.सूर्य पाठकलाई प्रवासी नेपाली संघ, पूर्वी एशियाको जिम्मेवारी दिइएको छ । सचिवालय वैठक बस्नु पूर्व डा.पाठकलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखमा प्रस्ताव गरिएको समाचार सार्वजनिक भएको थियो । एमालेमा प्रचार विभागलाई पार्टी केन्द्रको प्रवक्ताका रुपमा हेरिन्छ । अपानी अनुसार प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य निरज आचार्य रहनु भएको छ ।
बागलुङका अन्य चार जना केन्द्रीय सदस्यहरुलाई मिसन पार्टी जागरण अभियान अन्तरगत बागलुङका १० पालिका हेर्ने जिम्मेवारी दिइएको अपानीमा उल्लेख छ । केन्द्रीय सदस्यहरु लिल बहादुर थापा मगर, गोविन्द बहादुर नेपाली, सावित्रा राना र मञ्जु शर्मा चालिसेलाई पार्टी मिसन जागरण अभियानको जिम्मेवारी प्रदान गरिएको हो । फागुन २१ गतेको निर्वाचनमा धक्का खाएको एमालेले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्यहरुलाई पार्टी जागरण अभियानको जिम्मेवारी दिएर अभियानमा केन्द्रीत गर्ने सचिवालयको निर्णय अनुसार अगाडि जिम्मेवारी तोकिएको एमालेले जनाएको छ । पार्टीका ६ जना केन्द्रीय सदस्यहरु मध्ये ५ जनालाई जिल्ला तथा एक जनालाई प्रवासको जिम्मेवारी दिइएको हो ।
लामो समयदेखि पार्टी केन्द्रमा रहदै आएका यिनै नेताहरुले चुनाव पनि हाँकेका थिए ।
बागलुङका ६ केन्द्रीय सदस्य मध्ये मन कुमारी केसी जिसी र गोविन्द बहादुर नेपाली तेस्रो कार्यकाल, डा.सूर्य पाठक र सावित्रा राना दोस्रो कार्यकाल केन्द्रीय सदस्य रहनु भएको छ । केसी यसभन्दा अघिल्लो कार्यकाल पोलिटव्यूरो सदस्य रहनु भएको थियो । लिल बहादुर थापा मगर नेकपा माओवादी केन्द्रसंगको एकीकरणबाट पोलिटव्यूरो सदस्य र मञ्जु शर्मा चालिसे अघिल्लो कार्यकाल मनोनित र वर्तमान कार्यकालमा निर्वाचित हुनु भएको हो । लामो समय भूगोलको राजनीतिमा सक्रिय रहेका इन्द्रलाल सापकोटा गत महाधिवेशनमा सचिव पदमा र निवर्तमान जिल्ला अध्यक्ष हिरा बहादुर केसी केन्द्रीय सदस्यमा पराजित हुनु भएको थियो । पार्टीमा केपी ओली समुहमा रहेका ६ जनाले चुनाव जित्दा, इश्वर पोखेरल समुहका रहेका सापकोटा र केसी पराजित हुनु भएको थियो ।
