बागलुङ । बागलुङ बजारको समिक्षालय चोकमा रहेको वीरेन्द्र ऐश्वर्य पार्कमा राखिएका झण्डाको रंग फुङ्ङ उडेको छ ।
पार्कको सौन्दर्यकरणका लागि बागलुङ नगरपालिकाले २०८१ सालमा पार्कका रुख काटेर विभिन्न २ सय भन्दा बढी देशका झण्डा राखेको थियो ।
रङ्गी विरङ्गी विभिन्न देशका झण्डाले पार्कमा घुम्न, डुल्न र खेल्न गएका बालबालिकालाई आर्कषित गरको थियो । तर, पार्कका रुख काटेर झण्डा राखेको भन्दै विरोध पनि भएको थियो ।
बागलुङ बजारको भीडभाड र धुलोधुँवाबाट एकैछिन राहत लिन पार्क पुग्नेहरुलाई रुख काटेर फलामका डण्डिमा झुण्डाईएको झण्डा खासै रुचेको थिएन् ।
बागलुङ नगरपालिकाले पहिलोपटक पार्कमा झण्डा राख्दा संरचना बाहेक २ लाख ३१ हजार ३ सय ७२ रुपैयाँ झण्डा खरिदमा मात्र खर्च गरेको थियो ।
२०८१ जेठ ६ गते बागलुङ नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको २ वर्षको अवसरमा झण्डा अनावरण गरिएको थियो ।
त्यसको १ वर्षमै झण्डाको रंग उडेर फुङ्ङ भयो, कतिपय देशका झण्डा त च्यातिएका थिए । ३ लाख ३० हजार ७ सय ९७ रुपैयाँ खर्च गरेर नगरपालिकाले २०८२ सालमा झण्डा फेर्याे । जसको भुक्तानी ०८२ असार २४ गते गरिएको छ ।
पहिलो वर्ष झण्डा राख्दा भन्दा फेर्दा ९९ हजार ४ सय २५ रुपैयाँ बढि तिरेर फेरेका झण्डा पुनः फेर्नुपर्ने अवस्थामा पुगेका छन् । पहिलोपटक झण्डा राख्दा र फेर्दा गरेर हालसम्म ५ लाख ६२ हजार १ सय ६९ रुपैयाँ खर्च भएको बालुङ नगरपालिकाका सूचना अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
राख्दा सुन्दर देखिएपनि घाम पानीले खाएका झण्डाले समय वित्दै जाँदा पार्कको सुन्दरतानै विगारेको स्थानीयको भनाई छ । नेपाल र २÷४ वटा देशको बाहेक झण्डा चिनिदैन, यसले केही उत्पादन दिने पनि होइन, रुख विरुवा हुँदा शीत्तल हावा खाएर छाहारीमा बस्न पाइएको थियो पार्कमा शीतल बस्न आएकी ६० वर्षीया जुना अधिकारीले भन्नुभयो झण्डाले नगरपालिकालाई पनि फाइदा भएजस्तो लाग्दैन ।
झण्डा राख्न बनाईएका संरचनामा बालबालिका अल्झने र चोट लाग्ने खतरा समेत भएको उहाँको भनाई छ । बागलुङ नगरपालिका र वडाले पार्कमा आउने जेष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाका लागि शौचालय र बस्ने कुर्चिको व्यवस्था गरिदिए हुने स्थानीय देवबहादुर खड्काको भनाई छ ।
घरबाट १०÷१५ मिनेट हिडेर आयो, पिसाब लाग्यो भने पनि घरै जानु पर्छ अधिकारीले भन्नुभायो विदेशीका झण्डा राख्ने पैसाले शौचालय बनाएको भए कस्तो राम्रो हुन्थ्यो ।
