बागलुङ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बागलुङ नगरपालिका–६ वडा समितिले प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोटमा सरसफाइ अभियान सुरु गरेको छ । वर्षायाममा सडक तथा नाली अवरुद्ध भई यात्रु र स्थानीयलाई समस्या हुने अवस्थालाई मध्यनजर गर्दै वडा समितिका पदाधिकारी तथा सदस्यहरुले अभियान थालेको जनाइएको छ ।
वडा समितिको आयोजनामा पञ्चकोट धाम जाने सडक खण्डअन्तर्गत करिब २०० मिटर नाली सफा गर्नुका साथै सडक आसपास उम्रिएका झाडी तथा घाँस हटाउने काम गरिएको हो । अभियानअन्तर्गत पञ्चकोटको मूलगेटदेखि तल्लो गेटसम्मको क्षेत्रमा सरसफाइ गरिएको बताइएको छ । रास्वपा बानपा–६ वडा समितिका सचिव देवबहादुर केसीका अनुसार वर्षाको समयमा नाली थुनिँदा सडकमा भल बग्ने, बाटो हिलाम्मे तथा अवरुद्ध हुने समस्या दोहोरिने भएकाले पूर्वतयारीस्वरूप सरसफाइ अभियान सञ्चालन गरिएको हो । “यात्रु तथा स्थानीय बासिन्दालाई सहज आवतजावत गराउने, सडक सुरक्षित बनाउने र पञ्चकोट क्षेत्र सफा राख्ने उद्देश्यले अभियान थालेका हौं,” केसीले जानकारी दिनुभयो।
अभियानमा वडा समितिका आठ जना सदस्यको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले सडक किनारका झाडी फाँड्ने, नाली सफा गर्ने र अवरुद्ध हुन सक्ने स्थानहरू खुलाउने काम गरेका थिए । पछिल्ला वर्षहरूमा वर्षातका कारण नाली अवरुद्ध हुँदा सडकमा पानी जम्ने, भल बग्ने तथा कतिपय स्थानमा आवागमन प्रभावित हुने समस्या देखिँदै आएको स्थानीय बताउँछन् । यस्ता समस्यालाई न्यूनीकरण गर्न राजनीतिक दलले श्रमदानमार्फत समुदायमुखी काम थालेको सकारात्मक सन्देश गएको स्थानीयले बताएका छन् ।
वडा समितिले सरसफाइलाई एकदिने कार्यक्रमका रूपमा सीमित नराखी निरन्तरता दिने जनाएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित पञ्चकोट क्षेत्रलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सामुदायिक सहभागितासहित अभियानलाई थप प्रभावकारी बनाइने सचिव केसीको भनाइ छ ।
