• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

कांग्रेसको छाया सरकार : बलियो प्रतिपक्षको नयाँ परीक्षा

सम्पादकीय । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामकारबाहीमाथि निगरानी राख्ने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा मन्त्रालयगत जिम्मेवारी बाँडफाँट हुनु सामान्य राजनीतिक घटना मात्र होइन, संसदीय लोकतन्त्रलाई परिपक्व बनाउने अवसर पनि हो । सरकारलाई खबरदारी गर्ने, नीति–निर्णयको परीक्षण गर्ने र जनचासोका विषयमा विकल्पसहित आवाज उठाउने अभ्यासका रूपमा छाया सरकारलाई हेर्न सकिन्छ । नेपालको संसदीय इतिहासमा यो अभ्यास नयाँ भने होइन । २०४८ सालमा नेपाली कांग्रेसको बहुमत सहितको सरकार बनेपछि नेकपा एमालेले पनि यस्तै प्रकारको छाया सरकार गठन गरेको थियो । त्यसबेला एमालेले आफूलाई सशक्त प्रतिपक्षका रूपमा उभ्याउँदै सरकारका निर्णयमाथि निगरानी गर्ने, वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने र जनताका मुद्दा संसद तथा सडक दुवैतर्फ उठाउने प्रयत्न गरेको थियो । २०५१ मा एमालेले अल्पमतको सरकार बनाउदा अधिकांश छाया मन्त्रिपरिषदका सदस्यहरु मन्त्री भएका थिए । लोकतन्त्रमा सत्ताजत्तिकैै बलियो प्रतिपक्ष पनि आवश्यक हुन्छ भन्ने सन्देश त्यस अभ्यासले दिएको थियो ।

तर विडम्बना, २०५२ मा एमालेको अल्पमतको सरकार ढलेपछिको तीन दशकको नेपाली राजनीतिक अभ्यासले बलियो प्रतिपक्षभन्दा सत्ताको अस्वस्थ प्रतिस्पर्धालाई बढी संस्थागत ग¥यो । पुराना राजनीतिक दलहरू लामो समय विपक्षमा बस्नै नचाहने प्रवृत्तिले लोकतान्त्रिक अभ्यास कमजोर बन्यो । सरकारबाट बाहिरिएको केही समय नबित्दै गठबन्धन फेरबदल, सांसद तानातान, सत्तासमीकरणका खेल, सिद्धान्तभन्दा पद र शक्तिको मोह–यी सबैले जनतामा राजनीतिक दलप्रति गहिरो निराशा पैदा ग¥यो । कतिपय कालखण्डमा सांसद किनबेच, नैतिक प्रश्न उठाउने गतिविधि र सत्तामा फर्किन जे पनि गर्न सकिने मानसिकताले लोकतन्त्रको विश्वसनीयतामै चोट पु¥यायो । लोकतन्त्रको मूल भावना के हो भने जनताले बहुमत दिएको दलले पाँच वर्षसम्म स्थिर रूपमा शासन सञ्चालन गर्न पाओस्, र प्रतिपक्षले त्यसको निरन्तर निगरानी गर्दै राम्रा कामको समर्थन र कमजोरीमाथि दबाब सिर्जना गरोस् । प्रतिपक्षको भूमिका सरकार ढाल्ने षड्यन्त्र होइन, सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउने हो । रचनात्मक प्रतिपक्षले लोकतन्त्रलाई मजबुत बनाउँछ, नीतिगत बहसलाई गहिरो बनाउँछ र जनविश्वासलाई टिकाइराख्छ ।

नेपालमा विडम्बना के रह्यो भने संसदका प्रमुख दलहरू पटक–पटक एकै ठाउँमा उभिएर सत्ता चलाउने र विपक्षी शक्तिलाई कमजोर बनाउने अभ्यासले राजनीतिक विकल्पको स्पेस नै साँघुरो बनायो । परिणामतः राजनीतिक स्थायित्व कमजोर भयो, जनआक्रोश बढ्दै गयो र नयाँ पुस्तामा पुराना दलप्रति असन्तोष विस्तार भयो । यही असन्तोषको अभिव्यक्ति पछिल्ला वर्षमा देखिएको जेन्जी ‘जेनेरेसन जेड’ को राजनीतिक असन्तुष्टि र नयाँ विकल्प खोज्ने मनोविज्ञान पनि हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाया सरकार औपचारिकताका लागि मात्र सीमित हुनु हुँदैन । छाया प्रधानमन्त्री र मन्त्रीहरू पद र नामका लागि होइन, जिम्मेवारीका लागि नियुक्त भएका हुन् । गृह, अर्थ, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि वा परराष्ट्र लगायत हरेक मन्त्रालयको कामकारबाहीमाथि तथ्यसहित निगरानी, कमजोरीमाथि दबाब, वैकल्पिक नीति सुझाव र जनताका मुद्दामाथि निरन्तर आवाज उठाउन सके मात्र यसको औचित्य पुष्टि हुनेछ । कांग्रेसले सत्तामा फर्किने अधैर्य होइन, बलियो प्रतिपक्षको धैर्य देखाउन सक्यो भने मात्र लोकतन्त्र संस्थागत हुनेछ । बलियो सरकारभन्दा कम महत्वपूर्ण होइन, बलियो प्रतिपक्ष पनि । किनकि लोकतन्त्रको वास्तविक सुन्दरता सत्तामा होइन, जिम्मेवार प्रतिपक्षमा पनि देखिन्छ । प्रतिपक्षले बीच बाटोबाटै सत्ता हत्याउने खेल भन्दा पनि जनताले दिएको अभिमत अनुसार आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निभाउनका लागि यसपटक कांग्रेसले आंट गर्नु पर्छ र आम जनतामा सुधारिएको कांग्रेसले नयाँ गरेको, राम्रो गरेको र लोकतन्त्र तथा मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान गरेको देखिनु पर्छ, अन्यथा सुधारिएको भनिएको कांग्रेसलाई पनि जनताले उही बारीको मुला भन्ने दिन आउन सक्छ ?