सरोजराज पन्त
त्रिभुवन विश्वविद्यालयको यस क्षेत्रको एकमात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङले कर्मचारीहरूको प्रशासनिक दक्षता, सेवा प्रवाहको गुणस्तर तथा संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरेको सातदिने सेवाकालीन क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा धवलागिरि बहुमुखी क्याम्पसको आयोजनामा २०८३ साल जेठ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको हो ।उक्त तालिमले क्याम्पसका कर्मचारी तथा शिक्षकहरूलाई समसामयिक प्रशासनिक ज्ञान, सीप र प्रविधिसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको छ।
नेपालको उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, सुशासन र दक्ष जनशक्ति विकासलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको थियोे । तालिममा क्याम्पसमा कार्यरत २२ जना शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सात दिनसम्म सञ्चालन भएको तालिममा प्रशासनिक व्यवस्थापनदेखि सूचना प्रविधि, आर्थिक अनुशासन, कर प्रणाली, पुस्तकालय व्यवस्थापन, सञ्चार प्रणाली तथा कृत्रिम बौद्धिकता (AI) को प्रयोगसम्मका समसामयिक विषय समेटिएका थिए।
तालिमको उद्देश्य र सान्दर्भिकता
वर्तमान समयमा उच्च शिक्षा संस्थाहरूले केवल शैक्षिक गतिविधि सञ्चालन गर्ने मात्र नभई गुणस्तरीय सेवा प्रदान गर्ने, पारदर्शी प्रशासन सञ्चालन गर्ने तथा प्रविधिमैत्री व्यवस्थापन प्रणाली विकास गर्ने चुनौती सामना गरिरहेका छन्। यसै सन्दर्भमा धवलागिरि बहुमुखी क्याम्पसले आफ्ना कर्मचारीहरूलाई समयानुकूल दक्ष र प्रतिस्पर्धी बनाउन तालिमको आयोजनाबाट लाभ हुने अपेक्षा सहित यो तालिम संचालन गरेको हो।
कुनै पनि संस्थाको सफलता त्यहाँ कार्यरत मानव संसाधनको दक्षता, प्रतिबद्धता र कार्यकुशलतामा निर्भर रहने भएकाले कर्मचारीहरूको क्षमता विकासलाई संस्थागत विकासको आधारका रूपमा लिइएको छ। तालिमले सहभागीहरूलाई आफ्नो कार्यक्षेत्रमा देखिने चुनौतीहरूको समाधान खोज्न, आधुनिक प्रविधिको उपयोग गर्न तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको विश्वास गरिएको छ।
प्रविधिमैत्री विविध विषयमा केन्द्रित २८ वटा प्रशिक्षण सत्र
सातदिने तालिम अवधिभर विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तित्वहरूले २८ वटा विषयमा सहजीकरण गरेका थिए। तालिमका प्रमुख विषयहरूमा प्रशासनिक सुधार र सेवा प्रवाह, आर्थिक अनुशासन तथा पारदर्शिता, कार्यालय व्यवस्थापन, डिजिटल प्रविधिको प्रयोग, अभिलेख तथा फाइल व्यवस्थापन, कार्यालय स्वचालित प्रणाली, सूचना तथा सञ्चार प्रविधि, पुस्तकालय व्यवस्थापन, कृत्रिम बौद्धिकताको प्रयोग, कर प्रशासन, सार्वजनिक सेवा प्रवाह लगायतका विषय समावेश भएका थिए।
सहभागीहरूले तालिमका क्रममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास, समूह छलफल, अनुभव आदानप्रदान तथा अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागिता जनाएका थिए। यसले तालिमलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी वास्तविक सिकाइ र अनुभवको माध्यम बनाएको थियो।
संस्थागत विकासमा तालिमको भूमिका
तालिमको समापन समारोहमा बोल्दै धवलागिरि बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले क्याम्पस निरन्तर गुणस्तरीय शिक्षण, संस्थागत विकास तथा पूर्वाधार विस्तारको दिशामा अगाडि बढिरहेको बताउनुभयो। उहाँले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि संस्थाको दीर्घकालीन विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले कर्मचारीहरूमा नयाँ ऊर्जा र उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
तालिमको वास्तविक उपलब्धि सहभागीहरूको कार्यसम्पादनमा प्रतिविम्बित हुनुपर्ने धारणा राख्दै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई दैनिक कार्यक्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग गर्दै संस्थागत लक्ष्य प्राप्तिमा कर्मचारीहरूको भूमिका अझ महत्वपूर्ण हुने उहाँको अध्यक्ष थापाको भनाइ थियो।
क्याम्पस प्रमुखको प्रतिबद्धता
समापन समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालले सबैको सक्रिय सहयोग र समन्वयका कारण तालिम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। उहाँले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त आर्थिक सहयोग तथा विभिन्न निकाय र व्यक्तिहरूको सहयोगका कारण कार्यक्रम भव्य र उपलब्धिमूलक बनेको उल्लेख गर्नुभयो।
क्याम्पस प्रमुख सिलवालले कर्मचारीहरूको प्रशासनिक दक्षता र सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्न क्याम्पस निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थाको समग्र विकासका लागि शिक्षक र कर्मचारी दुवै पक्षको क्षमता विकासलाई प्राथमिकतामा राखिने बताउँदै भविष्यमा पनि यस्ता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।
त्रिभुवन विश्वविद्यालयको नीति र प्राथमिकता
कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाका प्रमुख दीपक तिवारीले मानव संसाधन कुनै पनि संस्थाको सबैभन्दा बलियो आधारस्तम्भ भएको बताउनुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिलाई नीतिगत तहबाट नै उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।
तिवारीले धवलागिरि बहुमुखी क्याम्पसले आफ्नै सक्रियतामा कर्मचारीहरूका लागि तालिम आयोजना गरेर अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न, सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन तथा संस्थागत भावनाका साथ कार्यक्षेत्रमा समर्पित हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।
उहाँका अनुसार वर्तमान समयमा दक्ष, जिम्मेवार र प्रविधिमैत्री कर्मचारी बिना कुनै पनि शैक्षिक संस्था प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन। त्यसैले कर्मचारीहरूको निरन्तर क्षमता विकासमा लगानी गर्नु आवश्यक रहेको उहाँको धारणा थियो।
सहभागीहरूको अनुभव
तालिममा सहभागी प्रशासन शाखाका प्रमुख अम्बिका रेग्मी, मुख्य कार्यालय सहायक भूपाल चालिसे तथा कर्मचारी संघका सभापति शिवराज पन्तले तालिम अत्यन्त फलदायी र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिनुभयो।
उहाँहरूले तालिमले प्रशासनिक ज्ञान, क्षमता अभिवृद्धि गर्नुका साथै व्यक्तिगत क्षमता विकास, नेतृत्व विकास, कार्यकुशलता अभिवृद्धि तथा सहकर्मीहरूबीच भावनात्मक एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। विभिन्न विषयगत सत्रहरूबाट प्राप्त ज्ञान, सीपले कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्याहरू समाधान गर्न सहयोग पुग्ने विश्वास पनि उहाँहरूले व्यक्त गर्नुभयो।
सहभागीहरूले विशेषगरी सूचना प्रविधि, कृत्रिम बौद्धिकता, अभिलेख व्यवस्थापन, कर प्रशासन तथा सेवा प्रवाहसम्बन्धी सत्रहरू अत्यन्त उपयोगी रहेको सहभागीहरुको धारणा थियो। आधुनिक कार्यालय व्यवस्थापन प्रणालीसँग परिचित हुन पाउनु तालिमको महत्वपूर्ण उपलब्धि भएको उहाहरूको अनुभव थियो।
अनुभवी विज्ञहरूको सहजीकरण
तालिमको अर्को महत्वपूर्ण पक्ष विभिन्न क्षेत्रका अनुभवी विज्ञ तथा प्रशासकहरूको सहभागिता रहेको थियो। तालिममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाका प्रमुख दीपक तिवारी, आर्थिक प्रशासन महाशाखाका उपआर्थिक नियन्त्रक रुपा श्रेष्ठ, धवलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू हरिप्रसाद पाण्डेय, हिरालाल रेग्मी तथा डा. डिल्लीराज गौतमले सहजीकरण गर्नुभएको थियो।
त्यसैगरी धवलागिरि बहुमुखी क्याम्पसका शिक्षण सहाय्क डा. देवबहादुर क्षेत्री, त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासन महाशाखाका लेखा अधिकृत छत्रबहादुर कार्की, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत विजय शर्मा, क्याम्पसका प्राविधिक प्रमुख कर्मचारी आनन्द पाठक, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवाल, जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल तथा कर अधिकृत साजन गमाल लगायतले विषयगत प्रशिक्षण प्रदान गर्नुभएको थियो।
विज्ञहरूको अनुभव, ज्ञान तथा व्यावहारिक उदाहरणहरूले तालिमलाई थप प्रभावकारी, सान्दर्भिक र सहभागीमैत्री बनाएको थियो।
उच्च शिक्षामा गुणस्तर सुधारको प्रयास
धवलागिरि बहुमुखी क्याम्पसले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान विस्तार, पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कर्मचारी क्षमता अभिवृद्धि तालिम पनि सोही प्रयासको एक महत्वपूर्ण कडीका रूपमा रहेको देखिन्छ।
उच्च शिक्षाको गुणस्तर केवल शैक्षिक कार्यक्रमले मात्र निर्धारण हुँदैन। प्रशासनिक सेवा, सूचना व्यवस्थापन, आर्थिक पारदर्शिता, अभिलेख व्यवस्थापन तथा विद्यार्थीमैत्री सेवा प्रवाहले पनि संस्थाको प्रभावकारितामा महत्वपूर्ण भूमिका खेल्छ। यस दृष्टिले हेर्दा कर्मचारीहरूको क्षमता विकासमा गरिएको लगानीले दीर्घकालीन रूपमा क्याम्पसको समग्र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
निष्कर्ष :
सात दिनसम्म सञ्चालन भएको कर्मचारी क्षमता अभिवृद्धि तालिम धवलागिरि बहुमुखी क्याम्पसका लागि केवल एक प्रशिक्षण कार्यक्रम मात्र नभई संस्थागत सुधार, सुशासन तथा मानव संसाधन विकासको महत्वपूर्ण अभियानका रूपमा स्थापित भएको छ। तालिमले सहभागीहरूलाई नयाँ ज्ञान, सीप, क्षमता र दृष्टिकोण प्रदान गर्नुका साथै संस्थाप्रति जिम्मेवारीबोध र व्यावसायिक प्रतिबद्धता समेत अभिवृद्धि गरेको छ।
कर्मचारीहरूलाई सक्षम, दक्ष र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यो कार्यक्रमले सेवा प्रवाहको गुणस्तर सुधार, प्रशासनिक कार्यक्षमता अभिवृद्धि तथा संस्थागत विकासमा दीर्घकालीन योगदान पुर्याउने विश्वास गरिएको छ। धवलागिरि बहुमुखी क्याम्पसले आगामी दिनहरूमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिँदै उच्च शिक्षामा गुणस्तर, सुशासन र उत्कृष्टताको नयाँ आयाम स्थापित गर्न आवश्यक छ।
