बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन भोलि जेठ २३ गते गलकोट नगरपालिकाको हटिया बजारमा हुँदैछ । करिब पाँच हजार सदस्य रहेको दाबी गरेको रास्वपाले तीन सय प्रतिनिधिको सहभागितामा नयाँ जिल्ला नेतृत्व चयन गर्न लागेको हो ।
अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र प्रतिनिधिहरू गलकोट आउने क्रम सुरु भइसकेको रास्वपा बागलुङका सचिव बबिन खत्री नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनबाट ९ सदस्यीय जिल्ला समिति निर्वाचित गरिदैछ । सभापतिले थप दुई जना सदस्य मनोनयन गर्ने व्यवस्था अनुसार ११ सदस्यीय जिल्ला समिति गठन हुनेछ ।
अधिवेशनमा अधिकांश पदमा सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि सभापति पदमा भने प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । हालसम्म वर्तमान जिल्ला उपसभापति ढालेन्द्र रायमाझी र गण्डकी प्रदेश संगठन विभागका सदस्य तथा जिल्ला सचिवालय संयोजक खिमानन्द पौडेलले सभापतिमा दाबी प्रस्तुत गर्नु भएको छ ।
सचिव नेपालका अनुसार पार्टीले लोकतान्त्रिक मूल्य, संगठनको एकता र आपसी समझदारीलाई प्राथमिकता दिँदै सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । सहमति हुन नसके लोकतान्त्रिक विधिअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनभयो ।
पहिलो जिल्ला अधिवेशनमै निर्वाचन गर्ने कुरा गर्नु हुदैन भन्ने आम नेता कार्यकर्ताको सुझाव छ, हामी सहमतिका लागि छलफलमै छौ, रास्वपा बागलुङ क्षेत्र नं.१ का सभापति बालकृष्ण शर्माले भन्नुभयो,–‘संगठन विस्तारको चरणमै भएकाले चुनाव भन्दा पनि सहमति मार्फत नै नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न गर्छौ भन्नेमा हामी विश्वस्त छौ ।’
रास्वपाले बागलुङमा संगठन विस्तारलाई तीव्र बनाएको जनाएको छ । जिल्लाका ८५ वडा मध्ये ७४ वटामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी वडामा तदर्थ समिति गठन गरी अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । त्यस्तै १० स्थानीय तहमध्ये ७ वटामा पालिका अधिवेशन सम्पन्न भएको र बाँकी तीन पालिकामा पनि संगठन निर्माणको काम जारी रहेको पार्टीको दाबी छ ।
सदस्यता अद्यावधिक अभियान अन्तर्गत हालसम्म करिब पाँच हजार सदस्यको अनलाइन सदस्यता नवीकरण भइसकेको सचिव नेपालको भनाइ छ । यसले बागलुङमा रास्वपाप्रति जनआकर्षण बढ्दै गएको संकेत गरेको उहाले बताउनुभयो । अधिवेशनपछि बाँकी वडा तथा पालिका अधिवेशन सम्पन्न गर्दै संगठन विस्तार, सदस्यता वृद्धि, प्रशिक्षण, जनसम्पर्क तथा जनजीविकासँग सम्बन्धित मुद्दामा केन्द्रित हुने योजना रहेको पार्टीले जनाएको छ । आगामी स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई थप व्यवस्थित बनाइने सचिव नेपालको भनाइ छ ।
प्रथम जिल्ला अधिवेशनले बागलुङमा रास्वपाको आगामी राजनीतिक दिशा, नेतृत्व र संगठनात्मक संरचना तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोका साथ हेरिएको छ ।
२०७९ असारमा गठन भएको रास्वपाको संगठन विस्तार अभियान अन्तरगत २०७९ भदौ १८ गते बागलुङको गणेश पौडेलको नेतृत्वमा जिल्ला समिति गठन भएको थियो ।
पौडेल प्रदेश उपसभापतिमा निर्वाचित भएपछि जिल्ला सभापतिमा २०८० भदौमा महेन्द्र खड्का चयन हुनु भएको थियो । त्यसयता खड्काको नेतृत्वमा रास्वपा बागलुङले संगठन विस्तार अभियान सञ्चालन गर्दै आएको छ ।
रास्वपा केवल अर्को राजनीतिक दल मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अभियान हो । पुराना दलहरूले वर्षौंदेखि सिर्जना गरेका विकृति, विसंगति, भ्रष्टाचार, नातावाद, कृपावाद र जनअपेक्षाविपरीतका गतिविधिको विकल्पका रूपमा रास्वपाको उदय भएको हो ।
रास्वपाले पारदर्शिता, जवाफदेहिता, सुशासन, विधिको शासन, योग्यताको सम्मान र नागरिक केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेको छ । पार्टीले जनताको समस्या सुन्ने मात्र नभई समाधान खोज्ने राजनीतिक संस्कार विकास गर्न खोजिरहेको छ । यही कारणले छोटो समयमै रास्वपाले देशव्यापी रूपमा जनविश्वास हासिल गर्न सफल भएको सचिव खत्रीको दावी छ ।
