• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

तीन महिनापछि चुनावी समीक्षा गर्दै एमाले बागलुङ

बागलुङ । गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएको ठीक तीन महिनापछि नेकपा एमाले बागलुङ चुनावी समीक्षामा जुटेको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएको तीन महिना पुगेकै दिन पारेर एमालेले शनिबार जिल्ला कमिटी बैठक बोलाएको हो । निर्वाचन सकिएलगत्तै विभिन्न तहमा समीक्षा गर्ने राजनीतिक दलहरूको परम्पराभन्दा फरक, एमाले बागलुङले भने लामो समयसम्म चुनावी समीक्षातर्फ ध्यान दिएको थिएन । परिणामले पार्टीलाई अपेक्षाभन्दा ठूलो धक्का दिए पनि समीक्षा प्रक्रिया ढिलो सुरु हुनु आफैंमा चर्चा र चासोको विषय बनेको छ ।

जिल्ला कमिटी बैठकमा चुनावी समीक्षा, पार्टी केन्द्रीय सचिवालयले अघि सारेको “मिसन स्थानीय तह” अभियान तथा सदस्यता नवीकरण लगायतका विषयमा छलफल हुने एमाले बागलुङका सचिव गणेशबहादुर थापा मगरले जानकारी दिनुभयो । तर पार्टीभित्र भने चुनावी परिणामको सामान्य समीक्षा मात्र होइन, नेतृत्व, नीति र कार्यशैलीबारे गम्भीर बहस आवश्यक रहेको आवाज उठ्न थालेको छ । जिल्लादेखि केन्द्रसम्म निर्वाचनपछि पार्टी गतिविधि सुस्ताएको र जिम्मेवार नेतृत्वले अपेक्षित सक्रियता देखाउन नसकेको गुनासो कार्यकर्ताहरूले गर्दै आएका छन् ।

“देशकै सबैभन्दा बलियो संगठन भएको दाबी गर्ने पार्टीलाई निर्वाचन परिणामले नराम्ररी झस्काएको छ,” एमाले जिल्ला सचिवालयका एक सदस्यले भने, “जनताले हाम्रो नेतृत्व, नीति र व्यवहार, कार्यशैली र नेतृत्व चयन गर्ने शैलीमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ खोज्ने साहस नगरी केवल औपचारिक बैठकले कार्यकर्तामा उत्साह र जनतामा विश्वास पैदा गर्दैन ।”
पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस पनि चर्किंदै गएको छ । वर्तमान नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने तथा पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवाज केन्द्रदेखि जिल्लासम्म सुनिन थालेको छ । २०८० चैतमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित हिरा बहादुर केसी गत मंसिरमा सम्पन्न एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बन्नुभएको थियो । माथिल्लो कमिटीमा उम्मेदवार बनेपछि जिल्ला अध्यक्षको जिम्मेवारी स्वतः निष्क्रियजस्तै बनेको, तर नयाँ नेतृत्व व्यवस्थापनमा स्पष्टता नआउँदा जिल्ला कमिटी बैठक नै लामो समय बस्न नसकेको नेताहरूको बुझाइ छ ।

एक जिल्ला सदस्यका अनुसार अध्यक्ष केसीले बैठक नबोलाउने र उपाध्यक्ष विष्णु भुषालले औपचारिक जिम्मेवारी नपाएको भन्दै सक्रिय भूमिका नलिनुले पनि संगठनात्मक गतिविधि प्रभावित बने । गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसी र क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे उम्मेदवार बन्नुभएको थियो । दुवै क्षेत्रमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र संगठन परिचालन, उम्मेदवार छनोट, नेतृत्वको सक्रियता र जनतासँगको सम्बन्धबारे गम्भीर समीक्षा हुनुपर्ने माग उठ्दै आएको छ ।
यद्यपि शनिबारको बैठकमा चुनावी समीक्षाभन्दा आगामी स्थानीय तह निर्वाचन केन्द्रित “मिसन स्थानीय तह” अभियानबारे बढी छलफल हुने सम्भावना रहेको नेताहरू बताउँछन् ।
एमाले केन्द्रीय सचिवालयको जेठ १० गतेको बैठकले देशभरका पालिकामा केन्द्रीय सदस्यहरूलाई इन्चार्जको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बागलुङका ६ जना केन्द्रीय सदस्यलाई सात स्थानीय तहमा खटाइएको छ । ११औं महाधिवेशनमा सचिव पदमा पराजित इन्द्रलाल सापकोटा तथा केन्द्रीय सदस्यमा पराजित हिरा बहादुर केसी र कृष्णबहादुर केसीलाई समेत पालिका तहको जिम्मेवारी दिइएको छ ।

तर अभियानको जिम्मेवारी बाँडफाँट भए पनि कार्यकर्तामा अपेक्षित उत्साह नदेखिएको एमालेकै नेताहरू स्वीकार गर्छन् । नेताले जिम्मेवारी त पाएका छन्, कार्यकर्ता पंक्तिलाई त्यसले छोएको छैन, जिल्ला कमिटिले प्रदेश र जिल्ला कमिटि सदस्यहरुलाई पनि जिम्मेवारी दिएपछि उत्साह थपिन्छ कि ? नेताहरुको भनाइ छ ।
“एमालेको साख पुनः स्थापित गर्न विगतका कमजोरीको निर्मम समीक्षा आवश्यक छ,” एमालेबाट निर्वाचित एक पूर्व जनप्रतिनिधिले भने, “युवालाई नेतृत्व र अग्रजलाई अभिभावकीय भूमिकामा स्थापित गर्न सके मात्र पार्टीले नयाँ ऊर्जा पाउँछ।” पार्टीलाई व्यक्तिले होइन, विधिले चलाउने अवस्थामा ल्याउदाको दिन यो मुलुक हाँक्ने शक्ति एमाले हो भन्ने स्थापित हुन्छ, उनको सुझाव छ ।

बैठकमा सदस्यता नवीकरणको विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । पार्टी सचिवालयले प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य थप्नुपर्ने तथा आफ्ना परिवारका युवालाई पार्टीमा आबद्ध गराउनुपर्ने निर्णय गरेको छ ।

तर कार्यकर्ताहरू भने सदस्यता नवीकरणमै चुनौती देखिरहेका छन् । “पहिले भएका सदस्य कति टिक्छन् भन्ने प्रश्न छ, एक जनाले तीन जना थप्ने अभियान सफल बनाउने आधार के हो ?” भन्ने प्रश्न नेतृत्वसमक्ष उठिरहेको छ ।

एमालेको नवौं जिल्ला अधिवेशनसम्म ८ हजार २ सय संगठित सदस्य रहेकोमा दशौं अधिवेशनसम्म आइपुग्दा संख्या घटेर करिब ५ हजारमा झरेको थियो। २०८१ चैत मसान्तसम्म ४ हजार ७ सय १५ सदस्यले नवीकरण गरेको तथ्यांक छ । २०८२ चैत मसान्तसम्मको सदस्यता जेठ मसान्तभित्र नवीकरण गर्ने तयारी रहेको सचिव थापा मगरले जानकारी दिनुभयो।
बैठकको अध्यक्षता उपाध्यक्ष विष्णु भुषालले गर्ने जनाइएको छ । लामो समयपछि बस्न लागेको यो बैठकले एमाले बागलुङलाई आत्मसमीक्षा, संगठन पुनर्जागरण र आगामी स्थानीय तह निर्वाचनको तयारीतर्फ कति गम्भीर बनाउँछ भन्नेमा कार्यकर्ता र राजनीतिक वृत्तको चासो केन्द्रित भएको छ ।

एमालेका वैठकहरु परम्परागत भएको पनि कार्यकर्ताको गुनासो छ, अतिथिहरुले लम्बेतान भाषण गर्ने, रिपोर्टिङसंगै वैठकको समय सकिने र निष्कर्ष र निर्णयमा सबैको सहभागिता नहुने, समिक्षा भन्दा बढी निर्देशन हुने भएकाले पनि तलका कार्यकर्ता उत्साहित नभएको नेताहरु बताउछन् ।