• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

एमाले बागलुङको वैठकका सहभागीहरुको सुझाव : ‘पार्टीमा पुर्नजागरण आवश्यक छ’

  • २०८३ जेष्ठ २३, शनिबार

बागलुङ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन पछिको समीक्षा गर्न बसेको नेकपा एमाले बागलुङको बैठकमा नेतृत्व, कार्यशैली र संगठन सञ्चालनको विषयलाई लिएर चर्को असन्तुष्टि पोखिएको छ । बैठकमा बोल्ने अधिकांश जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला कमिटि सदस्य र पालिका कमिटिका अध्यक्षहरुले पार्टीभित्र व्यापक रूपान्तरण, आत्मसमीक्षा र नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका थिए ।

सहभागीहरूले पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै “मुल धमिलो भएपछि धारो सफा गरेर मात्र हुँदैन” भन्ने निष्कर्ष सुनाएका थिए । पालिका र वडा तहसम्म संगठनात्मक समस्या रहेको भन्दै जिल्ला कमिटी नै पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए, नेतृत्व नयाँ अनुहारमा जान नसक्दा जनताका बीचमा गतिविधि गर्न गाह्रो हुने सुझाव सहभागीहरुले दिएका छन् । यतिबेला पार्टीलाई सुधार गर्नका लागि माथिबाटै शुरुवात गर्नु पर्छ, तलकालाई दोष लगाएर उम्कने ठाउँ छैन ।

वैठकमा पार्टी केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले पार्टीको अबको मुख्य काम सदस्यता नविकरण भएकाले प्राथमिकताका साथ लाग्न निर्देशन गर्नु भएको थियो । बैठकमा उठेका विषयहरू वैचारिक, संगठनात्मक र पार्टी शुद्धीकरणसँग सम्बन्धित रहेको उल्लेख गर्दै पार्टीभित्र पुनर्जागरणको आवश्यकता औंल्याएको जिल्ला कमिटिका एक सदस्यले बताए । “हामी बाधक होइन, साधक बन्नुपर्छ । आवश्यक परे तलदखि केन्द्रीय तहसम्म पनि नेतृत्व परिवर्तनका विकल्प खोजिनुपर्छ,” अधिकारीले वैठक बताएको ति सदस्यले जानकारी दिए ।

बैठकमा सहभागी अधिकांश नेताहरूले संगठन पुनर्जागरण, विधि–विधानको पालना, गुटबन्दीको अन्त्य र नेतृत्वको आत्मसमीक्षामार्फत एमालेलाई पुनः सशक्त बनाउनुपर्ने धारणा राखेका थिए । बैठकले पार्टीको अवस्था, चुनावी परिणाम र आगामी संगठनात्मक रणनीतिबारे थप छलफल गर्ने जनाएको छ ।

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मन कुमारी केसी जिसी, प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा लगायतले पार्टी केन्द्रको निर्णय र निर्देशन अनुसार सम्पूर्ण कमिटिका नेताहरु कार्यक्षेत्रमा खट्न आग्रह गर्नु भएको थियो । बैठकले असार मसान्तसम्म सदस्यता नविकरण गर्ने, मिसन स्थानीय तह अभियानलाई जागरण अभियानका रुपमा अगाडि बढाउने लगायतका निर्णय गरेको कार्यवाहक अध्यक्ष विष्णु भुषालले जानकारी दिनुभयो । वैठक कार्यवाहक अध्यक्ष भुषालको अध्यक्षता, सचिव गणेश बहादुर थापा मगरको सञ्चालन र उपसचिव धन बहादुर परियारको स्वागतमा सम्पन्न भएको थियो ।

  • २०८३ जेष्ठ २३, शनिबार