• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

लोकतन्त्रको जग : दलहरुको आन्तरिक लोकतन्त्र

सम्पादकीय । लोकतन्त्रको सफलताको आधार केवल आवधिक निर्वाचन होइन, लोकतान्त्रिक संस्कृतिको संस्थागत विकास पनि हो । लोकतन्त्रलाई बलियो बनाउने प्रमुख माध्यम राजनीतिक दलहरू हुन् । तर दलहरू आफैं लोकतान्त्रिक नभए लोकतन्त्रको रक्षा र प्रवद्र्धन गर्ने उनीहरूको दाबी कमजोर बन्छ । नेपालको राजनीतिक अभ्यास हेर्दा दलहरूमा आन्तरिक लोकतन्त्रभन्दा व्यक्तिकेन्द्रित नेतृत्व, गुटबन्दी र शक्ति–संघर्ष हावी भएको देखिन्छ । संविधानले राजनीतिक दलहरूलाई लोकतान्त्रिक हुनुपर्ने व्यवस्था गरेको दशकौं बितिसक्यो । दलहरूमा नियमित अधिवेशन, निर्वाचन र संरचनागत व्यवस्था पनि छन् । तर केवल निर्वाचन गरिनु वा अधिवेशन सम्पन्न हुनु नै आन्तरिक लोकतन्त्रको प्रमाण होइन । नेतृत्व चयन, निर्णय प्रक्रिया, विचार निर्माण र जिम्मेवारी वहन गर्ने संस्कार लोकतान्त्रिक हुन आवश्यक छ । दुर्भाग्यवश, धेरैजसो दलहरूमा विधानभन्दा व्यक्ति शक्तिशाली देखिन्छन् ।
पुराना दलहरुले आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गराउन सकेनन्, बामपन्थीहरुले जनवादी केन्द्रीयताका नाममा माथिको आदेश थोपर्ने, प्रजातान्त्रिकहरुले चुनाव गराए पनि भागवण्डाका आधारमा पार्टी चलाउने प्रवृतिसंगै पछिल्लो समय उदायको राजनीतिक दलहरुमा पनि आन्तरिक लोकतन्त्र कमजोर देखिन थालेको छ ।

नेपालका ठूला दलहरूको इतिहास हेर्दा नेतृत्व परिवर्तनभन्दा नेतृत्वको निरन्तरताले बढी स्थान पाएको छ । पार्टी चुनाव हार्दा पनि नेतृत्वले जिम्मेवारी लिने संस्कार कमजोर छ । पार्टी हार्ने तर नेता नहार्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ । लोकतन्त्रमा जनमतको सम्मान हुनुपर्छ भने दलभित्र पनि कार्यकर्ता र सदस्यको मतको मूल्य स्थापित हुनुपर्छ । तर व्यवहारमा निर्णय सीमित व्यक्तिको घेराभित्र केन्द्रित हुने गरेको देखिन्छ । आन्तरिक लोकतन्त्रको अर्को महत्वपूर्ण पक्ष विचारको बहस हो । दलहरू नीतिगत विषयमा बहस गर्ने थलो हुनुपर्ने हो । तर आज अधिकांश दलमा वैचारिक छलफलभन्दा गुटगत समीकरण बलियो छ । सरकारका नीति, विधेयक, संघीयता, आर्थिक विकास वा राष्ट्रिय प्राथमिकताजस्ता विषयमा दलभित्र व्यापक बहस भएको विरलै देखिन्छ । यसले पार्टीहरूलाई विचार निर्माण गर्ने संस्थाभन्दा सत्ता प्राप्तिको माध्यममा सीमित बनाइरहेको छ । सिमित नेताले गर्ने निर्णयमा ताली बजाउने संस्कार विकास हुदै गएको छ । आर्थिक पारदर्शिता पनि आन्तरिक लोकतन्त्रको महत्वपूर्ण आधार हो । दलहरूको आर्थिक स्रोत, खर्च र व्यवस्थापन पारदर्शी नहुँदा निर्णय प्रक्रियामा पैसाको प्रभाव बढ्छ । नेतृत्व वरिपरि सीमित स्वार्थ समूहको प्रभाव स्थापित हुन्छ । यसले इमानदार कार्यकर्ता र नयाँ नेतृत्वको सम्भावनालाई कमजोर बनाउँछ ।

साथै, दलहरूमा नयाँ नेतृत्व विकास गर्ने वातावरण पनि कमजोर छ । एउटै व्यक्तिलाई वर्षौंसम्म अपरिहार्य बनाउने प्रवृत्तिले संगठनलाई संस्थागत होइन, व्यक्तिनिर्भर बनाउँछ । लोकतन्त्रमा नेतृत्व भनेको बराबरीमध्येको पहिलो हो, स्थायी शासक होइन । नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको सहभागिता सुनिश्चित नगरी लोकतान्त्रिक संस्कृतिको विकास सम्भव छैन ।नेपालको लोकतन्त्र अझै संस्थागत हुने प्रक्रियामै छ । त्यसैले राजनीतिक दलहरूले आफ्नो घरभित्रको लोकतन्त्रलाई बलियो बनाउनु आजको प्रमुख आवश्यकता हो । खुला प्रतिस्पर्धा, पारदर्शी निर्णय प्रक्रिया, वैचारिक बहस, आर्थिक उत्तरदायित्व र नेतृत्वको जवाफदेहिताबिना लोकतन्त्रको आधार मजबुत हुन सक्दैन । लोकतन्त्र बलियो बनाउन राज्यका संस्था मात्र होइन, राजनीतिक दलहरू पनि बलिया हुनुपर्छ । र दलहरू बलिया बन्ने सबैभन्दा भरपर्दो बाटो भनेको आन्तरिक लोकतन्त्रको सुदृढीकरण नै हो ।