बागलुङ । बागलुङ नगरपालिका–१ स्थित ऐतिहासिक तथा सार्वजनिक महत्वको बाङ्गेचौर क्षेत्र अतिक्रमण भएको दाबी गर्दै अधिवक्ता तिलकबहादुर रिजालले उच्च अदालत पोखरा, बागलुङ इजलासमा रिट निवेदन दायर गर्नु भएको छ ।
रिजालले सार्वजनिक सरोकारको विषय भन्दै दायर गरेको रिटमा बागलुङ नगरपालिका, वडा नं. १ को कार्यालय, रामरेखा सामुदायिक वन उपभोक्ता समूह, वन डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, विभिन्न राजनीतिक दल, संघसंस्था तथा विद्यालयलाई विपक्षी बनाउनु भएको छ ।
रिट निवेदनमा बाङ्गेचौरको सरकारी तथा सार्वजनिक जग्गा विभिन्न संस्था र समूहले कानूनी प्रक्रिया नपु¥याई प्रयोग तथा कब्जा गरेको दाबी गरिएको छ । निवेदकले उक्त क्षेत्र परम्परादेखि गौचरन, खेलकुद, मेला–महोत्सव तथा सांस्कृतिक गतिविधिका लागि प्रयोग हुँदै आएको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्नु भएको छ ।
रिटमा रामरेखा सामुदायिक वन उपभोक्ता समुह र वन डिभिजन कार्यालयले नगरपालिकाको स्वीकृति तथा सम्झौताबिना सार्वजनिक जग्गा प्रयोग गरेको, विभिन्न संघसंस्था तथा राजनीतिक दललाई संरचना निर्माणका लागि अनुमति दिएको तथा त्यसबाट सार्वजनिक हित प्रभावित भएको आरोप लगाइएको छ ।
निवेदक रिजालले सार्वजनिक जग्गामा निर्माण भएका भवन, गेट, तारबार, टहरा तथा अन्य संरचनाको वैधानिकता परीक्षण गर्नुपर्ने माग गर्नु भएको छ । साथै बाङ्गेचौर क्षेत्रलाई खुला सार्वजनिक स्थलको रूपमा संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशनात्मक आदेश जारी गर्न अदालतसमक्ष आग्रह गर्नु भएको छ ।
रिटमा थप भौतिक संरचना निर्माण रोक्न, जग्गाको हस्तान्तरण वा प्रयोगसम्बन्धी नयाँ सहमति नगर्न र सार्वजनिक जग्गा संरक्षणका लागि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । अन्तिम सुनुवाइपछि बागलुङ नगरपालिका, वडा कार्यालय, नगर प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सरकारी सार्वजनिक जग्गा संरक्षण गर्न परमादेश जारी गर्नुपर्ने जिकिर पनि गरिएको छ ।
उच्च अदालत बागलुङ इजलासका रजिष्ट्रार रामबहादुर केसीले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको दाबी गर्दै संरक्षणको मागसहित अधिवक्ता रिजालले रिट निवेदन दर्ता गराएको जानकारी दिनुभयो ।
उक्त रिटमाथि अदालतले प्रारम्भिक सुनुवाइ गरी विपक्षी पक्षसँग लिखित जवाफ माग्ने वा अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
जग्गा अतिक्रमण सम्बन्धमा बानपा वडा नं. १ का अध्यक्ष जय केसीले वडा कार्यालयको भवन, रामरेखा आधारभूत विद्यालय र बाङ्गेचौर खेलमैदानलाई सामुदायीक वनको जग्गाबाट अलग्याएर बागलुङ नगरपालिका मातहतमा ल्याउने गरि रामरेखा सामुदायिक वन उपभोक्ता समुहकै निर्णय अनुसार मन्त्रालयसम्म पक्रिया पुगेको बताउनु भयो । उहाँले जेनजी आन्दोलन र निर्वाचनले गर्दा केही समय ढिला भए पनि छिट्टै यो जग्गा बागलुङ नगरपालिकाको अधिकार क्षेत्रमा पर्ने उहाँको भनाई छ ।
यस्तै रामरेखा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण प्रसाद शर्माले रामरेखा सामुदायिक वन उपभोक्ता समुह २०७२ सालदेखिनै नविकरण नभएको बताउनु भयो । सामुदायीक वनको जमिनमा अन्य संघ संस्थाहरुले संरचना निर्माण गरेका कारण समूहलाई नविकरण गर्न नसकेको उहाँको भनाई छ ।
रामरेखा सामुदायिक वन उपभोक्ता समूह बागलुङले बाङ्गेचौर खेलमैदान देखि कवर्डहलसम्मको ४२ रोपनी जमिन बागलुङ नगरपालिकालाई दिने गरि निर्णय गरेको भएपनि त्यसको पक्रिया अझै नसकिएकाले रामरेखा सामुदायिक वन उपभोक्ता समूहको नविकरण समेत अन्योलमा रहेको उहाँको भनाई छ । विभिन्न संरचना खडा भएको जग्गा अहिले पनि सामुदायीक वनकै भएको उहाँको भनाई छ ।