• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

धौलागिरी अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्न सांसद खड्काको माग

बागलुङ । बागलुङ क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य सुशिल खड्काले धौलागिरी क्षेत्रको स्वास्थ्य सेवाको सुदृढीकरण तथा धौलागिरी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि संघीय संसदमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खड्काले धौलागिरी प्रादेशिक अस्पताल गण्डकी प्रदेशकै महत्वपूर्ण स्वास्थ्य संस्थामध्ये एक भएको उल्लेख गर्दै यसको सेवा र पूर्वाधार विस्तार अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक करिब ५०० बिरामीले बहिरंग ९ओपीडी० सेवा लिने गरेका छन्, बागलुङ, म्याग्दी, पर्वत, रुकुम र रोल्पा जिल्लाका वार्षिक करिब १ लाख २६ हजार सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गर्दै आएका खड्काले उल्लेख गर्नु भएको छ ।

धौलागिरी क्षेत्र पर्यटनका हिसाबले पनि तीव्र गतिमा विकासको सम्भावना बोकेको उल्लेख गर्दै सांसद खड्काले आगामी १० वर्षभित्र मुक्तिनाथ र ढोरपाटन केन्द्रित पर्यटन गतिविधि विस्तार भई कम्तीमा २० लाख पर्यटक भित्रिने अनुमान रहेको बताउनुभयो । यस्तो अवस्थामा बागलुङलाई आर्थिक तथा सेवा केन्द्रका रूपमा स्थापित गर्न गुणस्तरीय स्वास्थ्य पूर्वाधार आवश्यक रहेको उहाँको भनाइ थियो ।

संसदमा सांसद खड्काले सरकारसमक्ष धौलागिरी अस्पतालको स्तरोन्नतिसँग सम्बन्धित चार प्रमुख माग प्रस्तुत गर्नुभएको छ । उहाँले ईएनटी ९नाक, कान, घाँटी०, प्याथोलोजी र मनोचिकित्सा ९साइकियाट्री० जस्ता अत्यावश्यक विशेषज्ञ सेवा विस्तार गर्दै आवश्यक जनशक्ति तथा दरबन्दी थप गर्न माग गर्नुभयो । त्यसैगरी अस्पतालमा डी ब्लक र ई ब्लक भवन निर्माण गरी तत्काल ३०० शैयामा स्तरोन्नति गर्न, हरी खड्का ट्रमा सेन्टर लाई प्रदेशकै नमूना ट्रमा सेन्टरका रूपमा विकास गर्न तथा सार्वजनिक–निजी साझेदारी ९पिपिपि० मोडेलमा एमबीबीएस र नर्सिङ कार्यक्रम सञ्चालन गर्न सक्ने शिक्षण अस्पतालका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

धौलागिरी क्षेत्रका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने उद्देश्यसहित सांसद खड्काले संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।