बागलुङ । बागलुङको गलकोट नगरपालिका–३ स्थित एक पुरानो घर नजिक ग्रिनेड (बम) फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी नीरिक्षक फणिन्द्र प्रसाईका अनुसार सोमबार साँझ करिब ६ बजे स्थानीय खडकबहादुर खत्रीको तीनतले कच्ची घरको बीचतलाको खाली कोठाबाट एक थान ग्रिनेड फेला परेको हो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी सहायक निरीक्षक हेमबहादुर थापाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेराबन्दी गरी सर्वसाधारणको आवतजावत नियन्त्रण गरेको जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीको कमाण्डमा थप टोली खटिएको छ ।
फेला परेको ग्रिनेड निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरधनी खडकबहादुर खत्री पूर्व भारतीय सैनिक रहेको र उनको करिब १० वर्षअघि नै मृत्यु भइसकेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
