• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बागलुङ नगर सभाका संस्थापक सदस्य गीता पुरीको निधन

बागलुङ । बागलुङ नगरपालिकाका संस्थापक नगरसभा सदस्य गीता पुरीको निधन भएको छ । २०५४ सालमा स्थापना भएको बागलुङ नगरपालिकाको पहिलो नगरसभामा सदस्य रहेकी पुरीको असार १ गते सोमबार राति निधन भएको हो ।

स्वर्गीय पुरीको पार्थिव शरीरको धार्मिक विधिअनुसार बुधबार बागलुङ नगरपालिका–१ स्थित निरहेघाटमा अन्त्येष्टि गरिएको छ ।

नेकपा एमालेका तर्फबाट नगरसभा सदस्य चयन भएकी पुरीलाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्येष्टि गरिएको थियो ।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु मनकुमारी जिसी केसी, गोविन्द बहादुर नेपाली र सावित्रा राना लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

बागलुङ नगरपालिकाका संस्थापक वडा अध्यक्ष ध्रुव बहादुर केसीका अनुसार पुरीले ५ वर्ष नगर परिषद सदस्य भएर काम गर्नुका साथै सामुदायिक वन उपभोक्ता समिति लगायत विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै महिला क्षमता विकास तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।

शैक्षिक तथा सामाजिक गतिविधिमा सक्रिय पुरीको परिवार पनि लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको छ । उहाका छोरा भरत पुरी नेकपा एमाले बागलुङका पूर्व जिल्ला सचिवालय सदस्य र बुहारी सुनिता पुरी पूर्व जिल्ला सदस्य रही सक्नु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका, कालिकास्थानमा १९९५ साल वैशाख १९ गते जन्मिएकी गीता पुरीको २००७ सालमा बागलुङ नगरपालिका–२ निवासी चेतानन्द पुरीसँग विवाह भएको थियो । उहाँका पति चेतानन्दको यस अघि नै निधन भइसकेको थियो ।

बागलुङ नगरपालिकाको स्थापना कालदेखि स्थानीय शासन, सामाजिक अभियान र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेकी पुरीको निधनले बागलुङले एक अग्रज सामाजिक व्यक्तित्व गुमाएको स्थानीयवासीले बताएका छन् ।