• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बरेङको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा

बागलुङ । जिल्लाको बरेङ गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १७ औँ गाँउसभाबाट गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माद्वारा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । गाउँपालिकाले उत्पादनमुखी अर्थतन्त्र, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा तथा कृषि आधुनिकीकरण मार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रतर्फ उत्पादन लागत घटाई उत्पादकत्व वृद्धि गर्न कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणलाई प्रोत्साहन गरिने भएको छ । कृषकलाई प्राविधिक तालिम, कृषि तथा पशुपन्छी बीमासम्बन्धी जनचेतना, स्थानीय डल्ले खुर्सानीको संरक्षण तथा व्यवसायीकरण, मौरीपालन प्रवद्र्धन र हाटबजार सञ्चालनमार्फत कृषि उत्पादनको बजारीकरणमा जोड दिइने नीति लिइएको छ । साथै प्रत्येक वडामा स्थानीय सम्भावनाका आधारमा प्रमुख बाली छनोट गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने, माटो परीक्षण शिविर सञ्चालन तथा पशु स्वास्थ्य सेवा विस्तार गरिने जनाइएको छ ।

शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयमा स्मार्टबोर्ड जडान गरी प्रविधिमैत्री शिक्षण प्रणालीलाई सुदृढ बनाइने भएको छ। विद्यालयमा दिवा खाजा, अतिरिक्त कक्षा, छात्रवृत्ति, प्रतिभा पहिचान कार्यक्रम तथा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बरेङ’ लागू गरिनेछ। पालिकाले विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गरी शतप्रतिशत शैक्षिक पहुँच सुनिश्चित गर्ने लक्ष्य पनि लिएको छ । स्वास्थ्य क्षेत्रतर्फ मातृ तथा शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै पूर्ण संस्थागत सुत्केरी कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण, नसर्ने रोगको स्क्रिनिङ, मृगौला परीक्षण, पोषण कार्यक्रम तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, विद्यालय स्वास्थ्य कार्यक्रम, खोप सेवा तथा जेष्ठ नागरिक र दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य सेवामा समेत जोड दिइएको छ ।

गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र विकासमार्फत “समृद्ध बरेङ, सुखी बरेङवासी” को दीर्घकालीन लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।