बागलुङ । गुहेली संचार सहकारी संस्थाद्वारा सञ्चालित जननिगरानी साप्ताहिक पत्रिका नवौँ वर्षमा प्रवेश गरेको छ । शनिबार बागलुङमा एक कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर कार्की (तिलक) ले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय उपयुक्त नभएको बताउनुभयो । विज्ञापनमा लगाइएको रोकका कारण निजी सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यम बन्द हुने अवस्था सिर्जना भए नागरिकको सूचनाको अधिकारसमेत प्रभावित हुन सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वक्ताहरूले जननिगरानी साप्ताहिकले स्थापनाकालदेखि नै नागरिकका मुद्दा, जनसरोकारका विषय तथा स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष विद्यापति शर्मा, वडा नं. ६ का अध्यक्ष वृहस्पति शर्मा, दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य दीपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, पत्रकार राजेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका प्रतिनिधि राजु गौतम, कृषि सहकारी संघका उपाध्यक्ष मणीभद्र शर्मा तथा स्वास्थ्य प्राविधिक संघका अध्यक्ष विष्णुनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जननिगरानी साप्ताहिकका अध्यक्ष तारा कार्कीको अध्यक्षता, सम्पादक अर्जुन कार्कीको स्वागत मन्तव्य तथा प्रकाशन समितिका संयोजक तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।