• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

जैमिनी नगरपालिकाको बजेट ७६ करोड ८८ लाख

  • २०८३ असार ९, मंगलवार

बागलुङ । जिल्लाको जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ लागि ७६ करोड ८८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । जैमिनी नगरपालिकाको १९ नगर सभाको अधिवेसनमा नगर उपप्रमुख हरिहर शर्माले उक्त अनुमाति बजेट पस्तुत गरे । शर्माले प्रस्तुत गरेको बजेटमा संघीय सरकार राजस्व बाँडफाँडबाट ९ करोड १७ लाख ९ हजार, संघीय सरकार वित्तीय समानीकरण अनुदान ११ करोड १३ लाख, संघीय सरकार शसर्त (चालु तथा पुँजीगत) ४२ करोड ५४ लाख रुपैयाँ आम्दानी हुने उल्लेख गरिएको छ ।

बजेटमा संघीय सरकार समपुरक अनुदान दुई करोड तीन लाख, प्रदेश सरकारको राजस्व बाँडफाँड एक करोड एक लाख ९ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान एक करोड ४३ लाख २२ हजार, प्रदेश सरकार समपुरक अनुदान ६० लाख आम्दानी हुने जनाइएको छ । उपप्रमुख शर्माले प्रदेश सरकार विशेष अनुदान ४० लाख, सडक बोर्ड नेपाल ६० लाख, गत आर्थिक वर्षको मौज्दात ६ करोड ४१ लाख १० हजार, आन्तरिक स्रोत र राजस्वबाट एक करोड ५५ लाख ५० हजार गरी ७६ करोड ८८ लाख आम्दानी हुने जनाएका छन् ।

नगरपालिकालाई प्राप्त हुने ४२ करोड ५४ लाख शसर्त अनुदान तोकिए अनुसार परिचालन हुने र बाँकी ३४ करोड २४ लाख रुपैयाँ विभिन्न शिर्षकमा विनीयोजन गरिएको उपप्रमुख शर्माले बताए । शर्माले सामाविक विकासतर्फ ५ करोड ६६लाख ९३ लाख पाँच सय ५८ रुपैयाँ बजेट विनीयोजन गरेका छन् । सामाजिक विकास अन्तर्गत लिड विद्यालयका लागि १५ लाख, बालमैत्री स्थानीय शासन दीगोपन कार्यक्रमका लागि ५१ लाख ५० हजार, बाल सहजकर्ता, विद्यालय कर्मचारी, प्र.अ.हरुको लागि प्रोत्साहनलाई निरन्तरता दिन एक कराड १३ लाख बजेट विनीयोजन गरिएको छ ।

जैमिनीले गुणस्तरीय शिक्षाका आधारशीला, सुधारिएको पाठशाला भन्ने नाराका साथ शिक्षाको न्युनतम सेवा गुणस्तर मापदण्ड इएमएसएस लागु गर्ने, उत्कृष्ट वर्ष विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन र पुरस्कार वितरण गर्ने, प्राविधिक धारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याईएको छ । खेलकुदका लागि ३६ लाख रकम विनीयोजन गरेको शर्माले जनाएका छन । एआई ल्याब स्थापनाका लागि पाँच लाख र नवप्रवर्तन र अनुसन्धानका लागि १० लाख बजेट विनीयोजन गरिएको छ ।

जैमिनी नागरिक स्वास्थ्य उपचार कोषका लागि ३० लाख, वडा नम्बर ९ का स्वास्थ्यचौकी भवन पूर्वाधारका लागि ९० लाख, वडा नम्बर ३ का भवन पूर्वाधारका लागि २० लाख बजेट विनीयोजन गरिएको छ । नगरपालिकाले जैमिनीकी छोरी कार्यक्रमलाई बचत खातामा जम्मा हुने रकम दोब्बर हुने व्यवस्था गरेको छ । आवास बिहीनलाई आवास निर्माणका लागि ३१ लाख ५० हजार, असाह्य, अनाथ र अपाङ्गता भएका नागरिकको जीवन रक्षाका लागि मानवसेवा आश्रमसंग साझेदारी गर्न १० लाख बजेट व्यवस्था गरिएको छ ।

उपप्रमुख शर्माले आर्थिक विकासतर्फ एक करोड ८८ लाख २५ हजार रुपैयाँ विनीयाजन गरेका छन् । उक्त बजेटबाट जैमिनीका किसानलाई परिचयपत्र, नश्ल सुधार, दुधमा उत्पादनको आधारमा अनुदान, सिंचाई प्रवद्र्धन, किसानका लागि निःशुल्क कल सेन्टर, व्यवसायिक राँगो तथा व्यवसायिक गोरु पालक कृषकलाई प्रोत्साहन र पाडापाडी संरक्षण कार्यक्रम ल्याइएको छ । केरा खेती विस्तार, सुन्तलाजात फलफुल बालीको नयाँ पकेट विकास कार्यक्रम, बाहिरबाट बसाइँ सरेर आएका युवाका लागि जैमिनी प्याकेज कार्यक्रम, कृषि एम्बुलेन्स, एकल महिला, पुरुषलाई बाख्रा अनुदान लगायतका कार्यक्रम ल्याइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि घुम्ती कोष, विद्यार्थीलाई नौमती बाजाको व्यवसायिक तालिमको व्यवस्था गरिएको छ । नगरपालिकाले पूर्वाधारतर्फ ११ करोड ८२ लाख ९१ हजार चार सय ४२ रुपैयाँ बजेट विनीयोजन गरेको छ । त्यसबाट नगरपालिका भित्रका १३ वटा दीगो सडक स्तरोन्नती, कुश्मीसेरा, सर्कुुवा विहारथला सडक लगायतका सडकहरुमा साझेदारी लगानी गरिनेछ । नगरपालिकाको प्रशासनिक भवन आगामी आर्थिक वर्षमा मंसिरसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाले विपद व्यवस्थापनमा ६१ लाख ४० हजार र सुशासन तथा संस्था विकासका लागि ४९ लाख ५० हजार बजेट विनीयोजन गरेको छ ।

  • २०८३ असार ९, मंगलवार