बागलुङ । बागलुङ जिल्लामा एक लाख ४३ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । पछिल्लो समय स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । जिल्लामा क्रमश स्वास्थ्य बीमा गर्नेको संख्यामावृद्धि भएको छ भने अधिकांश स्वास्थ्य बीमाका बिरामीले सरकारी अस्पतालबाट सेवा लिइरहेको पाइएको छ । कुल नसंख्याको ५८ प्रतिशत अर्थात् एक लाख ४३ हजार ६५२ नागरिक स्वास्थ्य बीमाको पहुँचमा रहेको पाइएको छ । बागलुङका हाल बसोबास गर्ने अधिकांश नागरिक स्वास्थ्य बीमाको पहुँचमा रहेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार ४६ हजार ४५४ घरपरिवार बीको पहुँचमा पुगिसेको संयोजक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष बिमा गर्नेको संख्या झण्डै नौ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ४९ प्रतिशत नागरिक मात्र बिमित रहेकामा यस वर्ष उल्लेख्य वृद्धि देखिएको छ । स्वास्थ्य बीमामा आबद्धहरुले सरकारी अस्पतालबाट एक लाख सम्मको उपचार सुविधा पाइरहेकाले बीमामा आवद्धको संख्यामा वृद्धि भइहरेको पौडेलको भनाई छ ।
एक परिवारले तीन हजार ५०० प्रिमियम तिरेर एक वर्षमा एकलाख सम्मको सरकारी अस्पताल र सुचिकृत नीजि अस्पतालबाट समेत सुविधा पाइने र रिफर गरेर नेपालका ठूला अस्पतालमा जान पाइने भएकाले बीमामा आबद्धहरुको संख्यामा वृद्धि भएको हो । “यो विपन्न परिवारलाई बढी लाभकारी छ, थोरै प्रिमियम शुल्कमा ठूलो स्वास्थ्य सुरक्षा मिल्ने भएकाले नागरिकको सहभागिता बढ्दो छ” पौडेलले भन्नुभयो “ठूलो जनसंख्या काठमाण्डौ सहितका ठूला शहर र विदेशमा भएकाले प्रतिशतका हिबासले ५८ प्रतिशत भएपनि अधिकांश नागरिक स्वास्थ्य बीमाको पहुँचमा आउन थालेका छन् ।”
पौडेलका अनुसार स्वास्थ्य बीमा वर्षेनी नविकरण गर्न आवश्यक रहेकाले नविकरण गर्न भने सदस्यले आनाकानी गरेको पाइएको छ । करिब ३० प्रतिशत बिमित सदस्यले प्रत्येक वर्ष बीमा नवीकरण नगर्ने गरेका छन् । स्वास्थ्य संस्थाबाट अपेक्षित सेवा नपाउनु, प्रक्रिया झन्झटिलो हुनु तथा औषधि अभावजस्ता कारणले नवीकरणमा कमी आएको पौडेलको भनाइ छ । सरकारले एक हजार २८८ प्रकारका औषधि उपलब्ध गराउने व्यवस्था गरे पनि व्यवहारमा औषधी अभाव देखिने तर परिक्षणमा धेरै सुविधा लिइरहेको पौडेलको भनाई छ । हाल बीमा कार्यक्रममा केही संरचनात्मक परिवर्तन गर्दा समेत सेवाग्राहीले नविकरणमा आनाकानी गरिरहेको उहाँको भनाई छ । बागलुङको धौलागिरि अस्पतालमा आउने अधिकांश विरामी स्वास्थ्य बीमाका रहेको पाइएको छ । अस्पतालमा दैनिक ४÷५ सय बिरामी मध्ये ८० प्रतिशतको हाराहारीमा बिमामार्फत सेवा लिने आउने गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.किरण तिवारीले जानकारी दिनुभयो ।
बागलुङका १० स्थानीय तहमै स्वास्थ्य बीमाको पहुँच विस्तार भएपनि धौलागिरि अस्पताल, गलकोट नगर अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङ अस्पताल र बडिगाड आधारभूत अस्पतालबाट पनि स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु उपलब्ध हुँदै आएको छ । निसीखोला गाउँपालिका, तमानखोेला गाउँपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा अझै प्रमथ सेवा बिन्दु राख्न सकेमा बिमितको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । यस्तै जिल्लाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका लगायतका पालिकाले दलित, अल्पसंख्यक र विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।
