बागलुङ । मानवता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै आयोजित एमआरआर भजन कार्यक्रममार्फत २५ वर्षीय किरण रिजालको उपचारका लागि आर्थिक सहयोग संकलन गरिएको छ।
बागलुङ नगरपालिका–१३, थाराघर निवासी खगराज रिजाल (कृष्ण) का छोरा किरण रिजाल हाल गम्भीर स्वास्थ्य समस्याका कारण काठमाडौंस्थित अर्पण न्युरो सेन्टर को आईसीयूमा उपचाररत रहेका छन्। चिकित्सकको सल्लाहअनुसार उनको विभिन्न चरणमा शल्यक्रिया (अपरेशन) गर्नुपर्ने भएकाले उपचारमा ठूलो आर्थिक खर्च लाग्ने भएको परिवारले जनाएको छ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै स्वदेश तथा विदेशमा रहेका नेपाली, विभिन्न सामाजिक तथा गैरसरकारी संघ–संस्था, सहयोगी मन भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ। यसै उद्देश्यले आयोजित एमआरआर भजन कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भजन–कीर्तनसँगै किरण रिजालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वेच्छिक रूपमा आर्थिक सहयोगका लागि अपिल गरिएको थियो ।
एमआरआर भजनका प्रतिनिधि कुशल कँडेलका अनुसार मानव सेवाभन्दा ठूलो धर्म कुनै नभएको सन्देशसहित सञ्चालन गरिएको यस अभियानले उपचारमा आर्थिक अभावका कारण समस्या भोगिरहेका बिरामीलाई राहत पुग्ने विश्वास लिइएको छ। उनले किरण रिजालको उपचारमा आवश्यक आर्थिक सहयोग जुटाउन सबै सहयोगी मनहरूलाई सक्दो साथ दिन आग्रह पनि गरेका छन्। आयोजकका अनुसार उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले बैंक खातामार्फत वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी सहयोग गर्न सक्नेछन्। उपचारका लागि आवश्यक खर्च जुटाउन सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरिएको छ।