• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

असार १५ अर्थात धान दिवस : किसानको कथा सुन्ने कि नसुन्ने ?

सम्पादकीय । असार १५ अर्थात राष्ट्रिय धान दिवस नेपाली समाजमा केवल एउटा सांस्कृतिक पर्व होइन, यो हाम्रो कृषि सभ्यता, किसानको श्रम र माटोसँगको सम्बन्धको प्रतीक हो । हिलोमा टेक्दै, असारे गीत गाउँदै, खेतमा धान रोप्दै र दही–चिउरा खाँदै मनाइने यो दिनले नेपाली जीवनशैलीको मौलिक पहिचान बोकेको छ । यही महत्वलाई आत्मसात गर्दै सरकारले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । तर असार १५ सकिएपछि पनि एउटा प्रश्न बाँकी रहन्छ, के धान दिवसले वास्तवमै किसानको जीवनमा परिवर्तन ल्याएको छ ? वा यो केवल वर्षमा एक दिन सामाजिक सञ्जालमा हिलो खेल्ने, फोटो खिच्ने र औपचारिक कार्यक्रम गर्ने अवसरमा सीमित हुँदै गएको छ ? हिजो देशभर धान दिवस मनाइयो । राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी, संघसंस्था र विभिन्न क्षेत्रका व्यक्तिहरु खेतमा पुगे, हिलो खेले, धान रोपे, तस्बिर खिचे र शुभकामना साटासाट गरे । यो सकारात्मक पक्ष हो । किसानको कर्मप्रति सम्मान देखाउने संस्कार आफैंमा महत्वपूर्ण छ । तर असली प्रश्न भनेको, खेतमा वर्षभर पसिना बगाउने किसानको जीवनमा त्यसको प्रभाव कति प¥यो ?

असार १५ को हिलो केही घण्टाका लागि शरीरमा लाग्छ, तर किसानको जीवनमा लागेको संघर्षको हिलो वर्षभर रहन्छ । बिहानदेखि बेलुकासम्म खेतमा खटिने किसानले आज पनि मल, बीउ, सिंचाइ, प्रविधि, बजार र उचित मूल्यको समस्या भोगिरहेका छन् । धान रोप्ने बेला मल नपाउने, बीउ खोज्नुपर्ने, उत्पादन भएपछि बजार र मूल्यको चिन्ता गर्नुपर्ने अवस्था अझै अन्त्य हुन सकेको छैन । नेपाल कृषि प्रधान देश भनिन्छ । तर विडम्बना के छ भने ठूलो संख्यामा नेपाली किसान आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्न संघर्ष गरिरहेका छन् । कृषि उत्पादन बढाउने कुरा धेरै सुनिन्छ, तर किसानलाई उत्पादनको सुनिश्चितता दिने नीति र व्यवहारबीच ठूलो दूरी देखिन्छ । खेतमा काम गर्ने किसान र नीति निर्माण गर्ने तहबीचको सम्बन्ध अझै कमजोर छ । धान नेपालको खाद्य सुरक्षाको मुख्य आधार हो । धान उत्पादन घट्दा आयात बढ्छ र त्यसको असर राष्ट्रिय अर्थतन्त्रमा पर्छ । तर धान दिवस मनाउने क्रममा किसानको वास्तविक समस्या कति उठ्छ ? किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य कसरी सुनिश्चित गर्ने ? युवालाई कृषि क्षेत्रमा कसरी आकर्षित गर्ने ? परम्परागत खेतीलाई आधुनिक र व्यवसायिक कसरी बनाउने ? यस्ता प्रश्नको उत्तर खोज्ने प्रयास अझै पर्याप्त हुन सकेको छैन ।

असार १५ लाई केवल उत्सवको रूपमा होइन, कृषि सुधारको अवसरका रूपमा लिनुपर्छ । किसानलाई सम्मान गर्ने भनेको एक दिन खेतमा गएर हिलो खेल्नु मात्र होइन, उनीहरुको श्रमको उचित मूल्य सुनिश्चित गर्नु हो । गुणस्तरीय बीउ, समयमै मल, भरपर्दो सिंचाइ, आधुनिक प्रविधि, कृषि बीमा, उत्पादनको बजार र उचित मूल्यको व्यवस्था गर्नु राज्यको वास्तविक दायित्व हो । अहिले कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव पनि बढ्दै गएको छ । कहिले खडेरी, कहिले बाढी र रोग–किराको समस्याले किसान थप जोखिममा छन् । त्यसैले परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजन गर्दै दिगो कृषि नीति आवश्यक छ । स्थानीय धानका जातको संरक्षणदेखि उत्पादन वृद्धि गर्ने वैज्ञानिक उपायसम्म राज्यको प्राथमिकतामा पर्नुपर्छ । असार १५ ले हामीलाई सम्झाउँछ, किसान केवल अन्न उत्पादन गर्ने व्यक्ति होइन, राष्ट्रको खाद्य सुरक्षा धान्ने आधार हुन् । किसानलाई दया र अनुदानको पात्र होइन, देशको आर्थिक विकासका साझेदारका रूपमा हेर्नुपर्छ । अब असार १५ को महत्व हिलो र उत्सवमा मात्र सीमित हुनु हुँदैन । यो दिनले किसानको पीडा, सम्भावना र भविष्यबारे गम्भीर बहस सुरु गर्ने दिन बन्नुपर्छ । सामाजिक सञ्जालका केही तस्बिर र औपचारिक कार्यक्रमले होइन, किसानको जीवनमा आउने वास्तविक परिवर्तनले मात्र धान दिवसको सार्थकता प्रमाणित गर्नेछ । किनकि खेतमा उम्रिएको धान केवल अन्न होइन, त्यो किसानको आशा, परिवारको भविष्य र राष्ट्रको आत्मनिर्भरताको आधार हो । असार १५ मनाउने संस्कारसँगै किसानको भविष्य सुरक्षित गर्ने जिम्मेवारी पनि हाम्रो साझा दायित्व हो ।