बागलुङ । गल्कोट नगरपालिका–१ स्थित देवलय आधारभूत विद्यालयकी शिक्षिका जानकी खड्काप्रति विद्यालय सहितका संघ संस्थाका तर्फबाट संयुक्त श्रद्धाञ्जली अर्पण गरिएको छ । देवलय आधारभूत विद्यालय, जनसेवा आमा समूह र सिवाइसी साकोस दुदिलाभाटी सेवा केन्द्रको संयुक्त आयोजनामा स्वर्गीय जानकी खड्काको स्मृतिमा बुधवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
देवलय आधारभूत विद्यालयका शिक्षिका, जनसेवा आमा समूहकी सदस्य तथा सिवाइसी साकोसका शेयर सदस्य जानकी खड्काको ३७ वर्षको उमेरमा निधन भएको विद्यालयले जनाएको छ । स्वर्गीय खड्काले शिक्षा, समाजसेवा र संस्थाप्रति गरेको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा देवलय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन भण्डारी, सिवाइसी साकोसका सञ्चालक समिति सदस्य कमला खड्का तथा जनसेवा आमा समूहकी सचिव सुनिता भण्डारीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले स्वर्गीय खड्काले शिक्षण पेशामार्फत विद्यार्थीको भविष्य निर्माणमा पु¥याउनुभएको योगदान, सामाजिक गतिविधिमा देखाउनुभएको सक्रियता र सहकारी अभियानप्रतिको समर्पणको स्मरण गर्दै उहाँको निधनले समाजमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सम्बन्धित संस्थाहरूको तर्फबाट श्रद्धाञ्जली–पत्र समेत हस्तान्तरण गरिएको थियो । साथै सिवाइसी साकोसले मृतकका परिवारलाई राहतस्वरूप रु। १५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।
श्रद्धाञ्जली सभामा शिक्षक–शिक्षिका, अभिभावक, सहकारीकर्मी, आमा समूहका पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन देवलय आधारभूत विद्यालयकी प्रधानाध्यापक सुशिला खत्रीले गर्नुभएको थियो । सहभागीहरूले स्वर्गीय जानकी खड्काको योगदान सधैं स्मरणीय रहने भन्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।
