बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु.१ अर्ब १४ करोड ९४ लाख ८३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख राजु खड्काले १९ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट तथा आन्तरिक आम्दानीलाई मुख्य स्रोतका रूपमा अनुमान गरिएको छ ।
नगरपालिकाले नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु. १५ करोड, ६५ लाख, सशर्त अनुदान तर्पm रु.५९ करोड १६ लाख, समपुरक अनुदान तर्पm रु एक करोड ६१ लाख, विशेष अनुदान तर्फ रु. १ करोड ८० लाख प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान तर्पm रु. दुई करोड १७ लाख ४२ हजार, समपुरक अनुदान तर्फ रु.६० लाख, बिशेष अनुदान तर्फ रु.३९ लाख ९५ लाख र संघ, प्रदेश र स्थानीय तहको राजस्व बा“डफा“ड रु. १५ करोड ५५ लाख, त्यसै गरी आन्तरिक राजस्व र अनुमानीत बैंक मौज्दात सहित रु. १८ करोड सहित कुल रु.१ अर्ब १४ करोड ९४ लाख ८३ हजार आय कायम गरिएको छ ।
नगरपालिकाले आगामी वर्ष नगरको अर्थतन्त्रलाई चलायमान बनाउने, समावेशी आर्थिक वृद्धि हासिल गर्ने, बालमैत्री स्थानीय शासनको दिगोपना सुनिश्चित गर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा खानेपानी सेवामा नागरिकको पहुँच विस्तार गर्ने, सुशासन प्रवद्र्धन गर्ने तथा कृषि, पशुपालन र पर्यटनलाई आर्थिक विकासको आधार बनाउने लक्ष्य लिएको छ ।
बजेटमा नगर उपप्रमुख पर्यटन विकास तथा साना पूर्वाधार कार्यक्रमका लागि रु.१ करोड विनियोजन गरिएको बताउनुभयो । होमस्टे प्रवद्र्धन, पर्यटकीय पूर्वाधार निर्माण, स्थानीय पर्यटनको प्रचारप्रसार तथा निजी क्षेत्रसँगको सहकार्यलाई पनि निरन्तरता दिइने उल्लेख गरिएको छ ।
कृषि तथा पशुपालनतर्फ पकेट कार्यक्रम, पाडा–पाडी संरक्षण, कृषि बजार व्यवस्थापन, स्थानीय मदिराको ब्रान्डिङ, निःशुल्क पशु स्वास्थ्य सेवा, कृषि यान्त्रिकीकरण, मौरीपालन, सुन्तला विशेष कार्यक्रम, गोठ सुधार तथा किसान प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
स्वास्थ्य क्षेत्रमा नगर अस्पताल सञ्चालन, निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, स्वास्थ्य बीमा, योग तथा प्राकृतिक चिकित्सा, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, विद्यालय नर्स कार्यक्रम, किशोरकिशोरी स्वास्थ्य, पोषण तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइएको छ । वडा नं. १३ पैयुँपाटास्थित १५ शय्याको नगर अस्पताल भवन सम्पन्न गरी सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
शिक्षातर्फ विद्यालय अनुदान, दिवा खाजा, छात्रवृत्ति, प्रधानाध्यापक क्षमता विकास, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा–सुविधा वृद्धि, विद्यार्थी प्रतिभा पहिचान तथा मनोपरामर्श कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पूर्वाधार विकासअन्तर्गत वडा तथा नगरस्तरीय योजना, निर्माणाधीन आयोजना सम्पन्न गर्ने, सडक, फुटपाथ, बजार पूर्वाधार, ब्लुहिल परियोजना, कृषि बजार व्यवस्थापन, बसपार्क सञ्चालन तथा नगरस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । वडा स्तरीय योजना तथा कार्यक्रमका लागि रु.६ करोड ४० लाख विनियोजन गरिएको छ भने नगरस्तरीय पूर्वाधार निर्माणका लागि रु.४ करोड छुट्याइएको छ ।
नगरपालिकाले श्रम बैंक स्थापना गरी स्थानीय श्रमिकको विवरण अभिलेखीकरण गर्ने, समान कामका लागि समान ज्यालाको सिद्धान्त कार्यान्वयन गर्ने तथा नगर प्रमुख रोजगार कार्यक्रममार्फत स्थानीय रोजगारी सिर्जना गर्ने नीति लिएको छ । सुरक्षित वैदेशिक रोजगारी, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ ।
फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, कुकुर सेल्टर हाउस सञ्चालन, ड्रोनमार्फत बजार सुरक्षा, बालमैत्री स्थानीय शासनको दिगोपना तथा सुशासन प्रवद्र्धनका कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ ।
नगर उपप्रमुख खड्काले चालु आर्थिक वर्षको असार २ गतेसम्म कुल संशोधित बजेटको ६२.३४ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी दिँदै आर्थिक वर्षको अन्त्यसम्म यो प्रगति करिब ८० प्रतिशत पुग्ने अपेक्षा व्यक्त गनुभयो । उहाँले सीमित स्रोतसाधन, अपेक्षाअनुसार आन्तरिक राजस्व संकलन हुन नसक्नु तथा संघ–प्रदेशबाट प्राप्त हुने अनुदानमा अनिश्चितता बजेट कार्यान्वयनका मुख्य चुनौती रहेको उल्लेख गरिएको छ ।