• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

लहरेपिपल स्वास्थ्य चौकी भवन : ८१ दिनमै निर्माण सम्पन्न

बागलुङ । विकास निर्माणका काममा ढिलासुस्ती हुने जनगुनासो बढिरहेका बेला बागलुङमा एक स्वास्थ्य चौकीको भवन ८१ दिनमै सम्पन्न भएको छ । उपभोक्ता समितिको सक्रियतामा लहरेपिपल स्वास्थ्य चौकीको भवन छोटो अवधिमै निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएसँगै बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा दिन थालेको छ । स्थानीयले जग्गा दान गरेपछि संघीय सरकारको ७४ लाख रुपियाँ बजेट र स्थानीयको श्रमदानबाट भवन निर्माण गरिएको हो । अपाङ्गमैत्री एकतले सात कोठे भवनमा ओपीडी, इमर्जेन्सी उपचार कक्ष, परिवार नियोजन तथा मातृ–शिशु सेवा कक्ष, स्वास्थ्यकर्मी कक्ष र भान्साकोठासमेत निर्माण गरिएको छ । भवनमा अपाङ्गमैत्री शौचालय र सुरक्षित खानेपानीको व्यवस्था पनि गरिएको छ ।
शुक्रबार भवन उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले सबै वडावासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न आधुनिक भवन निर्माण गरिएको बताउनुभयो । विकासको सुचकमा स्वास्थ्य क्षेत्र महत्वपुर्ण रहेको बताउनु भयो । नागरिको स्वास्थ्यसँग जोडिएको क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो ।
यस्तै नगर उपप्रमुख राजु खड्काले जनताको बुझाईमा एकरुपता भएमा मात्र सहज विकास हुने बताउनु भयो । “जव सम्म जनताको विकासबो बारेमा बुझाईमा एकरुपता आउदैन तव सम्म दिर्घकालिन विकासको लागि कठिन हुन्छ ”उपप्रमुख खड्काले भन्नु भयो । स्वास्थ्य चौकी प्रमुख विष्णुनाथ सापकोटाले पुरानो र जीर्ण भवनका कारण सेवा प्रवाहमा कठिनाइ हुँदै आएकोमा नयाँ भवनपछि उपचार सेवा सहज हुने बताउनुभयो । नियमित उपचारसँगै अब सुत्केरी सेवा समेत विस्तार गर्न सकिने उहाँको भनाइ छ । भवन निर्माणमा संघीय सरकारको ७४ लाख रुपियाँ बाहेक स्थानीयवासीले झण्डै ५ लाख रुपियाँ बराबरको श्रमदान गरेको भवन निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको सक्रिय सहभागिताले ८१ दिनमै भवन सम्पन्न गर्न सम्भव भएको हो ।

स्थानीयले स्वास्थ्य चौकीका लागि २ रोपनीभन्दा बढी जग्गा दान गरेका थिए । समयमै काम सम्पन्न गर्ने उपभोक्ता समिति, जग्गादाता र सहयोगीलाई सम्मान गरिएको वडा अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । साथै, मुख्य सडकदेखि स्वास्थ्य चौकीसम्म एम्बुलेन्स तथा अन्य सवारी साधन पुग्ने गरी बाटो ढलान गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
स्वर्गीय नरबहादुर कार्कीको स्मृतिमा उहाँकी पत्नी हिमा कार्की, छोराबुहारी नन्दबहादुर र पवित्रा कार्कीले जग्गा दान गर्नुभएको हो ।

त्यस्तै, अर्का नरबहादुर कार्कीको स्मृतिमा पत्नी कुमारी कार्की, छोराबुहारी रमेश र देवी कार्की तथा छोरी सरस्वती कार्कीले जग्गा दान गर्नुभएको छ । स्वर्गीय पहलमान कार्कीको स्मृतिमा पत्नी लिलामती कार्की र छोरी कोपिला कार्कीले तथा स्वर्गीय गोविन्द कार्कीको स्मृतिमा आमा विष्णु कार्की र भाइहरू ठगबहादुर र प्रताप कार्कीले जग्गा दान गर्नुभएको हो ।