• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बागलुङका ७७ खानेपानी मुहानमा दिसामा पाइने ‘कोलीफर्म’ भेटियो

बागलुङ । बागलुङका ७७ खानेपानी मुहानमा दिशामा पाईने किटाणु (कोलीफर्म) रहेको पाइएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षण गरेको खानेपानीको मुहान तथा धाराको नमुना परीक्षणमा ७७ खानेपानी खानेपानी मुहानमा दिशामा पाईने किटाणु ‘कोलीफर्म’ भेटिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले हरेक वर्ष खानेपानीको शुद्धता परिक्षण गर्दै आएको छ । खानेपानी गुणस्तर सर्भिलेन्स अन्र्तगत जिल्लाका ३६९ खानेपानीको मुहान परिक्षण गर्दा ७७ खानेपानी मुहानमा मुहानमा मानव दिशामा पाइने किटाणु ‘कोलीफर्म’ भेटिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन निरीक्षक डिल्लीप्रसाद आचार्यले बताउनुभयो । आचार्यका अनुसार बागलुङका अािधकांश खानेपानीको मुहान शुद्धिकरण गर्न आवश्यक रहेको बताउदै ‘कोलीफर्म’को जीवाणु भएको खानेपानी सोझै खान नमिल्ने जानकारी दिनुभयो ।

१० स्थानीय तहमध्ये ताराखोला गाउँपालिका परिक्षण नभएको र काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परिक्षणमा ‘कोलीफर्म’ देखिएको छैन । स्वास्थ्य कार्यालय बागलुङको प्राविधिकको टिम र स्थानीय तहको स्वास्थ्य शाखाको समन्वयमा खानेपानीको नमुना परीक्षण गरिएको आचार्यले जानकारी दिनुभयो । जसमध्ये सबैभन्दा बढी खानेपानीको मुहान जैमिनी नगरपालिकामा परिक्षण गरिएको छ । जैमिनी नगरपालिकाको १३८ खानेपानीको मुहान परिक्षण गर्दा २७ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ । जैमिनीले आफ्नै स्रोत–साधनले खानेपानीको मुहानमा नमुना परीक्षण गरेकाले धेरै मुहानको खानेपानी परिक्षण गर्न सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

“हामीले प्रयोग गरिरहको खानेपानीको अवस्था के छ भनेर वार्षिक रुपमा नै स्वास्थ्य कार्यालयले खानेपानीको नमूना परिक्षण गर्दछ, खानेपानीबाट लाग्न सक्ने रोग र सचेतनाका लागि समेत उक्त परिक्षणले सहयोग पु¥याउछ” आचार्यले भन्नुभयो “वर्खाको सिजनमा खानेपानी प्रयोगमा उच्च सर्तकता अपनाउन आवश्यक देखिएको छ, कोलिफर्म देखिएको खानेपानी सोझै खानु हानिकारक हुन्छ, खानेपानीलाई उमालेर अथवा अन्य विधिको प्रयोग गरेर मात्रै प्रयोग गर्न सकिन्छ ।”

स्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिकाको ३६ खानेपानीको मुहान परिक्षण गर्दा ५ खानेपानीको मुहानमा कोलिफर्म देखिएको छ । यस्तै गलकोट नगरपालिकामा ९६ खानेपानीको मुहान परिक्षण गर्दा ३८ खानेपानीको मुहानमा ‘कोलीफर्म’ भेटिएको छ । यस्तै ढोरपाटन नगरपालिका भत्रिका ६ खानेपानी मुहान परिक्षण गर्दा १ खानेपानीका मुहानमा ‘कोलीफर्म’ फेला परेको हो । यस्तै बडिगाड गाउँपालिकामा २१ मुहानको परिक्षण गरिएकोमा ३ मुहानमा कोलिर्फम फेला परेको थियो ।

काठेखोला गाउँपालिकाको ९ मुहानको परिक्षण गर्दा सबै मुहान शुद्ध रहेको पाइएको छ । भने निसीखोला गाउँपालिकामा परिक्षण गरिएको ३३ खानेपानी मुहानमा परिक्षणमा सबै मुहान शुद्ध पाइएको छ । यस्तै तमानखोला गाउँपालिकामा २२ वटा मुहानको खानेपानी परीक्षण गर्दा २ स्थानमा ‘कोलीफर्म’ भेटिएको छ भने बरेङ गाउँपालिकाका ८ खानेपानी मुहान परिक्षण गर्दा १ स्थानमा ‘कोलीफर्म’ फेला परेको हो । गाउँ–गाउँमा पुगेर खानेपानीको नमूना संकलन गरी स्वास्थ्य कार्यालयको ल्याबमा परिक्षण गर्दा कोलिफर्मको मात्रा फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । शर्मा अनुसार बजार क्षेत्रमा रहेको खानेपानीका मुहानमा ‘कोलीफर्म’को मात्रा धेरै पाइएको बताउनुभयो । ‘कोलीफर्म’ फेला परेको विवरण सर्वाजनिक पालिका अनुसार उपभोक्ता संस्थासंग पुग्नेगरी पठाइएको आचार्यको भनाई छ ।

एक महिना अघि मात्रै कोलिर्फम युक्त खानेपानी सेवनका कारण ७ जनामा जण्डिस रोग भेटिएको थियो । धौलागिरी अस्पताल बागलुङका डा. सन्दीप केसीले कुवाबाट खानेपानी प्रयोग गरेका कारण विरामी परेको र उनिहरु सेवन गरिरहेको पानी परिक्षण गर्दा कोलिर्फम फेला परेको जानकारी दिनुभयो । अस्पतालमा आउने ज्वरो, झाडापखाला, मलेरिया, टाइफाइट जस्ता रोगको प्रमुख कारण नै शुद्ध खानेपानीको अभाव भएको केसीको बताउनुभयो । गत आथिक वर्ष पनि ३४१ स्थानमा पानी परीक्षण भएकोमा १२५ स्थानमा कोलीफर्म देखिएको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ मा भने २ सय ८ स्थानको पानी परीक्षण गर्दा ७३ स्थानमा कोलीफर्म देखिएको थियो । मानव वा अन्य जनावरको दिशा तथा अन्य फोहोरबाट कोलीफर्म देखिने गरेको हो । कोलीफर्मयुक्त पानीका कारण टाइफाइट, मलेरिया र जण्डिस जस्ता रोग देखापर्न सक्ने खतरा रहेको छ । पानी निर्मलीकरण वा उमालेर खानुपर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।