• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

प्रहरीको स्वास्थ्यमा विशेष ध्यान : बागलुङमा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी कर्मचारीहरूको शारीरिक तन्दुरुस्ती र स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्ने उद्देश्यले आईतबार बडी मास इन्डेक्स (बिएमआइ) परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको उचाइ र तौलका आधारमा बिएमआइ परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाको प्रारम्भिक मूल्याङ्कन गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै स्वस्थ कार्य वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य प्रवद्र्धनमूलक कार्यक्रम आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिनेछ । कार्यक्रम सम्पन्न गर्न धौलागिरी प्रादेशिक अस्पताल, बागलुङले सहयोग गरेको थियो । अस्पतालका ए।एन।एम। सोनी छन्त्याल र ए।एच।डब्लु। कल्पना गौतम सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रहरी कार्यालयले स्वस्थ प्रहरी नै सुरक्षित समाज निर्माणको आधार भएकाले प्रहरी कर्मचारीको स्वास्थ्य संरक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

‘स्वस्थ प्रहरी, सुरक्षित समाज’ भन्ने नारासहित सम्पन्न उक्त कार्यक्रमले प्रहरी संगठनभित्र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।