• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बागलुङको खुर्सानी पोखरा निर्यात गर्दै सापकोटा

  • २०८३ असार २२, सोमबार

बागलुङ नगरपालिका–४ ढोडेनीका किसान त्रिलोचन सापकोटा अहिले खुर्सानी टिप्न व्यस्त हुनुहुन्छ । सापकोटाको पिरो खुर्सानीको माग पोखाराबाट समेत भएको छ । १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती गर्दै आउनुभएका सापकोटाको अहिलेको मुख्य आम्दानी खुर्सानीमा छ । अहिले खुर्सानी पोखरा पुगेपनि लगत्तै अन्य तरकारीको समेत पोखराबाट माग भइरहेको छ ।

पाँच वटा हाइटेक टर्नेल सहित खुल्ला जग्गामा काक्रो, भेन्टा, धनिया, सिमि, बोडी लगायतका तरकारी बिक्री गर्दै आउनुभएको सापकोटाले वार्षिक १८ लाख आम्दानी गर्दै आउनुभएको छ । “पहिलो पटक आफ्नो कृषि उत्पादन पोखरा पुगेको छ, पाँच रोपनी जग्गामा मात्रै खुर्सानी खेती लगाएको छु, यस सिजनमै खुर्सानीबाट साढेदुई लाख देखि तीन लाख सम्म आम्दानी हुने देखियो” सापकोटाले भन्नुभयो “खुर्सानीको उत्पादन धेरै भएपछि बागलुङ बजारमा खपत नभएकाले पोखराको बजारमा खुर्सानी पठाउन थालेको छु, अहिले काक्रो, केरा, धनिया र भेण्टाको समेत उत्तिकै उत्पादन बढिरहेको छ गर्न सकेमा बजारको अभाव हुँदै भन्ने उदाहरण पाएको छु, दैलोमै कालोपत्र सडक आएपछि ढुवानीको समेत समस्या छैन ।”

पोखरा मात्रै पाँच सय केजी खुर्सानी निर्यात भइकसकेको छ भने बागलुङमा चार सय केजी खुर्सानी बिक्रिी भएको उहाँको भनाई छ । अझै तीन महिना लगातार खुर्सानीको उत्पादन भइरहेने उहाँको भनाई छ । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत सापकोटाले यस क्षेत्रकै नमूना कृषि फर्म सन्चालन गर्दै आउनुभएको छ । अहिले पाखो जग्गामा केराखेती गर्दै आएको सुनाउदै सापकोटाले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएको बताउनुहुन्छ ।

कालीगण्डकी पशुपालन तथा कृषि फार्म मार्फत ३४ वर्षदेखि बाबुको पदचाप पछ्याउदै तरकारी खेतिमा होमिएका सापकोटाले गाई भैसी पालन मार्फत दैनिक ३० लिटर दूधको समेत बजारीकरण गर्दै आउनुभएको छ । दुई जनालाई प्रत्यक्ष रोजगारी दिनुभएका सापकोटाले तरकारी खेतीबाटै दुई छोरालाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका र अष्टे«लिया पठाउनुभएको छ ।

पाँच हाइटेकसंगै नौ वटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गर्दै आउनुभएको सापकोटाले अहिले खुर्सानीको उत्पादन सोचेभन्दा बढी फलेको बताउनुभयो । कृषिमा भित्रिएको प्रविधिका कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा, केरा र दुध बिक्रीबाट वार्षिक १८ लाखसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “यही कमाइबाट छोरालाई उच्च शिक्षासम्म अध्ययनका लागि अमेरिका र अष्ट्रेलिया पठाएको छु, पढाई सकेर स्वदेशमै आउन सल्लाह समेत दिएको छु, आम्दानीबाट मल, बिउँ, कर्मचारी र अन्य खर्च कटाएर १२ लाख त बचतै हुने गरेको छ ।”

फार्म सञ्चालनका लागि चार रोपनी आफ्नै जग्गा छ भने ११ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको हो । सापकोटालाई श्रीमती चित्रकुमारी सापकोटाले सघाउदै आउनुभएको छ । बाबु बाजेले गरेको तरकारीलाई व्यवसायिक र प्रविधियुक्त बनाउदा आम्दानीमा वृद्धि भएको उहाँको भनाई छ ।

  • २०८३ असार २२, सोमबार