• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

तमानखोला गाउँपालिकाको आफ्नै बालगृह

  • २०८३ असार २३, मंगलवार

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले पारिवारिक समस्याका कारण पढाईबाट बञ्चित भएका बालबालिकालाई चारवर्षदेखि आवास सहितको निःशुल्क शिक्षा दिदै आएको छ ।

गाउँपालिकाले निःशुल्क शिक्षा र खानपानको ग्यारेण्टी गर्नका लागि समस्यामा परेका, विपन्न र अभिभावक बिहिनलाई आवासीय सहितको शिक्षा प्रदान गर्न सफल भएको छ । गाउँपालिकाले वार्षिक १८ लाख खर्चेर अहिले १८ जना बालबालिकालाई तमानखोला बाल संरक्षण गृहका नाममा गाउँपालिका–३ स्थित तमान गाउँमा आश्रय दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

अध्यक्ष बुढाका अनुसार गाउँपालिकामा सामान्य कापी कलम समेत किन्न नसक्ने, परिवारको अपहेलनाबाट पढाई छोडेका, अभिभावक बिहिनलाई गाउँपालिकाले हेरचाह, खानपान, औषधी उपचार र कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च गाउँपालिकाले व्यहोर्दै आएको छ ।

“गाउँपालिकाले शिक्षा, स्वास्थ्य र आवासको ग्यारेण्टी गरेको छ, गाउँपालिकामा धेरै विपन्नता, अशिक्षा र अभिभावक बिहिन भएका कारण हामीले आवासीय सहितको सुविधा दिएको छ” बुढाले भन्नुभयो “गाउँपालिकाले तमानगाउँको धनगौज्योती माध्यामिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको, स्वास्थ्य उपचार, खानपान, लत्ताकपडा लगायतको सबै व्यवस्था मिलाएको छ ।” २६ जना बालबालिकाबाट शुरु गरेको बालगृहमा अहिले १८ बालबालिका आश्रीत छन् । गाउँपालिकाले घर भाडामा लिएर बालबालिकालाई पालनपोषणसंगै शिक्षा दिदै आएको छ ।

२०७९ असार १३ गते गाउँपालिकाले पालनपोषणसंगै शिक्षाका बालगृह सञ्चालनमा आएको छ । बागलुङको तमानखोलाको भयरबुङ्काकी ओमकला रसाईलीले कक्षा छ मा भर्ना हुनुभएकोमा अहिले बालगृहबाटै कक्षा १० मा पुगेको बताउनुभयो ।

आमा बुबा नहुँदा पठन–पाठनमा समस्या देखिएका बालबालिका अधिकांश रहेको पाइएको तमानखोला गाउँपालिका–३ का वडा अध्यक्ष झक बुढामगरले बताउनुभयो । अभिभावक बिहिन, टुहुरा र अनाथ बालबालिकाहरुले राम्रो संग अध्ययन गर्न नपाउदा उनिहरुको भविश्य अन्योलमा पर्ने भन्दै गाउँपालिकाले आवासीय सुविधा सहित अध्ययन अध्यापन गराउन थालेको वडा अध्यक्ष बुढाको भनाई छ । अभिभावक बिहिन बनेका बालबालिकालाई बालगृहमा राखेर कक्षा १२ सम्म निःशुल्क शिक्षा दिन थालेको हो । “भौगोलिक रुपमा अत्यन्तै विकट रहेको यस तमानखोला गाउँपालिकामा अधिकांश बालबालिका उच्च शिक्षा अध्ययन गर्न नपाउनुको पछि उनिहरुको परिवार र अभिभावकको समस्या देखियो” अध्यक्ष बुढामगरले भन्नुभयो “परिवारिक समस्याका कारण बीचमै विद्यालय छोड्ने विद्यार्थीबढेपछि उनिहरुलाई बालगृहमा राखेर अध्यापन गारउदा कम्तिमा १२ कक्ष पास गर्नेछन्, १२ कक्षा पास गरिसक्दा विद्यार्थी आफ्नो भविश्यको विषयमा जानकारी हुनेछन् ।”

बालबालीकाको आवास, खाना, लत्ता कपडा, शैक्षिक सामाग्री लगायतको सबै आवश्यकता गाउँपालिकाले परिपूर्ती गर्ने गरेको छ । बालगृहमा बसेका आश्रीत बालबालिकाले गाउँपालिकाका कारण आफूहरुलाई पठन–पाठनमा सह भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

  • २०८३ असार २३, मंगलवार