सम्पादकीय। नेपाल पत्रकार महासंघ बागलुङ शाखाले रजत जयन्ती मनाइरहेको यो क्षण एउटा संस्थाको २५ वर्षे यात्राको उत्सव मात्र होइन, बदलिँदो पत्रकारिताको दिशाबारे गम्भीर आत्ममूल्याङ्कन गर्ने ऐतिहासिक अवसर पनि हो । विगतका पच्चीस वर्षमा बागलुङको पत्रकारिताले लोकतन्त्रको संस्थागत विकास, नागरिक चेतनाको विस्तार, सुशासनको पक्षपोषण र स्थानीय आवाजलाई राष्ट्रिय बहससम्म पु¥याउने काममा उल्लेखनीय योगदान दिएको छ । कठिन भौगोलिक अवस्था, सीमित स्रोत, राजनीतिक दबाब र आर्थिक अभावका बीच पनि यहाँका पत्रकारहरूले सत्यलाई आफ्नो पेशागत धर्म र जनविश्वासलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति मानेर यात्रा अगाडि बढाउदै आएका छन् । यही यात्राको संस्थागत अभिव्यक्ति हो, नेपाल पत्रकार महासंघ बागलुङ । तर रजत जयन्तीको उत्सव मनाइरहँदा एउटा असहज प्रश्न हाम्रो सामु उभिएको छ, पत्रकारितामा जीवन अर्पण गरेका पत्रकारका अगाडि नागरिक पत्रकारिता आज चुनौती बनेको छ, के आज पत्रकारिता पहिलेभन्दा बढी प्रभावशाली छ, कि केवल बढी छिटो भएको छ ? सूचना उत्पादन गर्ने माध्यमहरू विस्तार भएका छन्, तर विश्वसनीय सूचनाप्रतिको विश्वास खुम्चिँदै गएको छ । समाचारको गति बढेको छ, तर तथ्यको गहिराइ घटेको छ । सञ्चारको पहुँच व्यापक बनेको छ, तर सत्यको आवाज स्वरभित्र हराउने खतरा बढेको छ । यही विरोधाभास आजको पत्रकारिताको सबैभन्दा ठूलो चुनौती हो ।
एक समय थियो, समाचार पत्रकारले मात्र उत्पादन गर्थे । आज प्रत्येक स्मार्टफोन एउटा सम्भावित सञ्चारगृह बनेको छ । सामाजिक सञ्जालले सूचना प्रवाहलाई लोकतान्त्रिक बनाएको छ भने नागरिक पत्रकारिताले घटनास्थलबाट तत्काल सूचना सार्वजनिक गर्ने संस्कृतिको विकास गरेको छ । यो परिवर्तनलाई अस्वीकार गर्न सकिँदैन । तर नागरिक पत्रकारिता व्यावसायिक पत्रकारिताको विकल्प बन्न सक्दैन । किनकि पत्रकारिता केवल देखेको कुरा सार्वजनिक गर्नु होइन, सत्यापन, सन्दर्भ, सन्तुलन, उत्तरदायित्व र सार्वजनिक हितलाई केन्द्रमा राखेर सूचना सम्प्रेषण गर्नु हो । यही मूल्यले पत्रकारलाई ‘कन्टेन्ट क्रिएटर’ बाट अलग बनाउँछ । आजको अर्को निर्णायक मोड कृत्रिम बुद्धिमत्ता (एआई) हो । समाचार लेखन, अनुवाद, तथ्य संकलन, भिडियो सम्पादन र डेटा विश्लेषणमा एआई शक्तिशाली सहायक बनेको छ । सीमित जनशक्ति भएका स्थानीय सञ्चारमाध्यमका लागि यो ठूलो अवसर पनि हो । तर अवसरसँगै जोखिम पनि उत्तिकै गम्भीर छ । डीपफेक भिडियो, कृत्रिम आवाज, बनावटी तस्बिर र एआईबाट निर्मित भ्रामक सामग्रीले सत्य र असत्यबीचको दूरी झन् जटिल बनाइदिएको छ । यस्तो अवस्थामा पत्रकारको भूमिका घट्दैन, अझ बढ्छ । किनकि कुनै पनि प्रविधिले मानवीय विवेक, नैतिक निर्णय, स्थानीय सन्दर्भको बुझाइ र सार्वजनिक उत्तरदायित्वलाई प्रतिस्थापन गर्न सक्दैन । तर प्रविधिभन्दा ठूलो संकट आर्थिक पक्षमा देखिएको छ । स्थानीय सञ्चारमाध्यमहरूको विज्ञापन बजार दिनप्रतिदिन खुम्चिँदै गएको छ । डिजिटल प्लेटफर्मले विज्ञापनको ठूलो हिस्सा आफ्नो नियन्त्रणमा लिएका छन् । धेरै सञ्चारगृह न्यून स्रोतमा सञ्चालन भइरहेका छन् । पत्रकारहरू न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, सामाजिक सुरक्षा अभाव र बहुआयामिक कार्यभारबीच काम गर्न बाध्य छन् । समाचार लेख्ने पत्रकारले नै भिडियो खिच्नुपर्छ, सम्पादन गर्नुपर्छ, सामाजिक सञ्जाल चलाउनुपर्छ र कहिलेकाहीँ विज्ञापन पनि जुटाउनुपर्छ । यस्तो संरचनामा अनुसन्धानमूलक, तथ्यमा आधारित र गहिरो पत्रकारिताको अपेक्षा गर्नु यथार्थपरक हुँदैन ।
पत्रकारिताको गुणस्तर बचाउन पत्रकारको श्रम, मर्यादा र जीविकाको सम्मान पनि उत्तिकै आवश्यक छ । यही सन्दर्भमा नेपाल पत्रकार महासंघको भूमिकामाथि पनि नयाँ प्रश्न उठ्छ । महासंघ केवल प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा विरोध गर्ने संस्था मात्र भएर पुग्दैन । अब यसले पत्रकारको क्षमता विकास, डिजिटल रूपान्तरण, एआई साक्षरता, तथ्य परीक्षण, डेटा पत्रकारिता, श्रम अधिकार, सामाजिक सुरक्षा, महिला र युवा पत्रकारको नेतृत्व विकास तथा सञ्चार उद्यमको दिगोपनमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ । पत्रकारिताको भविष्य जोगाउने लडाइँ अब केवल अभिव्यक्ति स्वतन्त्रताको लडाइँ होइन, व्यावसायिक क्षमता, संस्थागत दिगोपन र जनविश्वास जोगाउने लडाइँ पनि हो । यससँगै पत्रकारहरूले पनि आत्मसमीक्षा गर्नुपर्छ । निष्पक्षता केवल दाबी गर्ने विषय होइन, व्यवहारबाट प्रमाणित हुने मूल्य हो । समुदायकेन्द्रित पत्रकारिता, तथ्यमा आधारित विश्लेषण, विविध आवाजको सम्मान, आचारसंहिताप्रतिको प्रतिबद्धता र त्रुटि सच्याउने संस्कृतिले मात्र विश्वसनीयता निर्माण गर्छ । क्लिक, भाइरल र प्रतिस्पर्धाको दबाबले पत्रकारिताको आत्मा कमजोर हुनु हुँदैन । समाचार बजारको वस्तु हुन सक्छ, तर पत्रकारिता सार्वजनिक उत्तरदायित्व हो । रजत जयन्तीले विगतका उपलब्धिहरूको सम्मान गर्छ । तर यसको वास्तविक अर्थ भविष्यका चुनौती स्वीकार गर्ने साहसमा निहित छ । आगामी पच्चीस वर्षको पत्रकारिता प्रविधिले होइन, विश्वासले निर्धारण गर्नेछ । नागरिकले सबैभन्दा छिटो समाचार दिने माध्यम खोजिरहेका छैनन् उनीहरू सबैभन्दा सही, प्रमाणित र विश्वसनीय सूचना दिने माध्यम खोजिरहेका छन् । यही विश्वास जित्न सक्ने पत्रकारिता मात्र समयको कठोर परीक्षामा टिक्नेछ । नेपाल पत्रकार महासंघ बागलुङले आफ्नो रजत जयन्तीमा यदि एउटा मात्र संकल्प लिनुपर्ने हो भने त्यो यही हुनुपर्छ, पत्रकारितालाई केवल जीवित राख्ने होइन, विश्वसनीय बनाउने । किनकि प्रविधिले सूचना दिन सक्छ, कृत्रिम बुद्धिमत्ताले सामग्री तयार गर्न सक्छ, नागरिकले घटना देखाउन सक्छन; तर सत्यलाई प्रमाणित गर्ने, सन्दर्भ दिन्ने, शक्तिलाई प्रश्न गर्ने र समाजप्रति उत्तरदायी रहने दायित्व अझै पनि पत्रकारिताकै काँधमा छ । यही दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्न सके रजत जयन्ती केवल एउटा उत्सव रहने छैन, बागलुङको पत्रकारिताको स्वर्णिम भविष्यतर्फको ऐतिहासिक मोड बन्नेछ । संस्थापक सहित आजसम्म महासंघसंगै यो क्षेत्रको पत्रकारितामा योगदान गर्नेहरुप्रतिको सच्चा सम्मान पनि हुनेछ ।
