• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

विद्यार्थीलाई भेप र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन बागलुङ प्रहरीको अनुरोध

बागलुङ । विद्यार्थी लाई भेप तथा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन जिल्ला प्रहरी कार्यालय बागलुङले अनुरोध गरेको छ ।

बुधवार बागलुङमा सञ्चालित क्याफे व्यवसायलाई मर्यादित, सुरक्षित र बालमैत्री बनाउने उद्देश्यले क्याफे व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै अनुरोध गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले क्याफे व्यवसायलाई कानुनको परिधिभित्र रही जिम्मेवार ढंगले सञ्चालन गर्न आग्रह गर्दै विद्यार्थी तथा किशोरकिशोरीलाई लक्षित गरी सुर्तीजन्य पदार्थ, भेप ई–सिगरेट तथा अन्य नशालु पदार्थको बिक्री–वितरण र प्रयोगलाई निरुत्साहित गर्न व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । साथै व्यवसायीलाई सुर्तीजन्य पदार्थको प्रयोगको लागि छुट्टै सूचना पार्टी राख्न समेत अनुरोध गरिएको छ ।

अन्तरक्रियाका क्रममा व्यवसायीहरूले १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई सुर्तीजन्य पदार्थ, भेप वा यस्ता कुनै पनि वस्तु बिक्री नगर्ने, आफ्नो व्यवसायिक परिसरलाई बालमैत्री, सुरक्षित र स्वस्थ वातावरणका रूपमा विकास गर्ने तथा लागूऔषध, सुर्तीजन्य पदार्थ र भेपको दुरुपयोगविरुद्ध नेपाल प्रहरी र समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, कुनै पनि शंकास्पद वा गैरकानुनी गतिविधि देखिएमा तत्काल नेपाल प्रहरीलाई जानकारी गराउने तथा स्वस्थ, सुरक्षित र जिम्मेवार समाज निर्माणमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता पनि व्यवसायीहरूले व्यक्त गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बजार क्षेत्रका १४ वटा क्याफे सञ्चालकको सहभागिता रहेको थियो ।