• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

आजैबाट आफूलाई बदल्ने अभियान सुरु गरौं : एमाले गण्डकी सचिव दवाडी

बागलुङ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले पार्टीले विगतका कमजोरीबाट पाठ सिक्दै जनतासँगको सम्बन्ध पुनः सुदृढ बनाउनुपर्ने बताउनु भएको छ ।आत्मसमीक्षा, नवप्रवर्तन र अनुसन्धानमा आधारित कार्यशैली अपनाए मात्र पार्टीको पुनरुत्थान सम्भव हुने उहाको भनाइ छ ।

आज बिहान सामाजिक सञ्जालमार्फत ९ बुदे धारणा सार्वजनिक गर्दै दवाडीले जहाँबाट गल्ती भएको छ, त्यहीबाट सुधार आवश्यक रहेको बताउनु भएको छ । एमालेमा पार्टी रुपान्तरण र पुस्तान्तरणको विषयमा देशभर सुझाव संकलन भइसकेको छ । सुझाव संकलन कार्यदलको वैठक बस्नै लाग्दा सचिव दवाडीले रुपान्तरणका पक्षमा जोडदार आवाज उठाउनु भएको छ । उहाले पार्टीका जनप्रतिनिधि र नेतृत्व क्रमशः जनताभन्दा उच्च पदस्थ कर्मचारी, सुरक्षा निकाय र अन्य शक्ति केन्द्रसँगको पहुँचमा बढी केन्द्रित हुँदा आधारभूत तहका जनता र श्रमिक वर्गसँग दूरी बढेको स्वीकार गर्नु भएको छ ।

यही कारण पार्टीको विचार, नीति र संगठनात्मक काम कमजोर बन्दै गएको र अन्ततः जनमतबाट नेतृत्व र संगठनले चुनौती सामना गर्नुपरेको उहाको विश्लेषण छ । सचिव दवाडीले गल्ती स्वीकार गरेर त्यसबाट सिक्नु नै आन्दोलनलाई जीवित राख्ने आधार भएको उल्लेख गर्दै, ‘जहाँबाट गल्ती भएको हो, सुधार पनि त्यहीँबाट सुरु गर्नुपर्छ । गल्तीबाट सिक्नेले मात्रै सफलता हासिल गर्छ,’ भन्नु भएको छ ।

पछिल्लो निर्वाचन परिणामलाई स्थायी पराजयका रूपमा नहेर्न आग्रह गर्दै जनतासँगको सम्बन्ध बलियो बनाएर पुनः विश्वास जित्नुपर्ने उल्लेख गरेका दवाडीले लोकतान्त्रिक वामपन्थी शक्तिहरूको भूमिका अझै पनि देशका लागि आवश्यक रहेको दावी गर्नु भएको छ । उहाले नेपाली वामपन्थको भविष्य ज्ञान, सीप र सामाजिक कल्याणमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । विज्ञान, प्रविधि, नवप्रवर्तन र दक्ष जनशक्तिलाई आत्मसात् गर्दै मध्यम वर्गसँग समेत नयाँ ढंगले सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनु भएको छ ।

अनुसन्धान र तथ्यमा आधारित राजनीति आजको आवश्यकता भएको उल्लेख गर्दै उहाले ‘जोसँग तथ्य ९डाटा० छ, उसैले जित्छ’ भन्ने धारणा व्यक्त गर्नु भयो । कुनै पनि संगठन वा मुलुकको सफलताका लागि तथ्यमा आधारित निर्णय प्रणाली अपरिहार्य रहेको उहाको भनाइ थियो । साथै उहाले समाज परिवर्तनसँगै राजनीतिक आन्दोलन पनि रूपान्तरण हुनुपर्नेमा जोड दिनु भएको छ । पूँजीवादी प्रणालीले समयअनुसार आफूलाई बदल्दै आएको उल्लेख गर्दै समाजवादी आन्दोलनले पनि नयाँ सोच, नयाँ शैली र नयाँ कार्यदिशा अपनाउनुपर्ने बताउनुभयो । उहाले माक्र्स, लेनिन, माओ वा मदन भण्डारीका विचारलाई स्थिर निष्कर्षका रूपमा मात्र नलिएर समय, समाज र नेपाली यथार्थअनुसार नयाँ निष्कर्ष निकाल्दै अघि बढ्नुपर्ने धारणा राख्नु भएको छ ।

नेपाली इतिहास, संस्कृति, सामाजिक मूल्य र अनुसन्धानबाट प्राप्त ज्ञानलाई समेटेर आत्मसुधारको अभियान सुरु गरे वामपन्थी आन्दोलनको पुनरुत्थान सम्भव रहेको उल्लेख गर्दै उहाले सबैलाई ‘आजैबाट आफूलाई बदल्ने अभियान सुरु गरौं’ भन्ने आह्वान गर्नु भएको छ ।