• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

‘थामचौरको जस्तो समस्या जिल्लाका धेरै ठाउँमा छ,’: समन्वय प्रमुख थापा

बागलुङ । बडिगाड गाउँपालिका–७ थामचौरका स्थानीय आज पनि पोखरीको पानी पिउन बाध्य रहेको विषय चर्चामा रहेका बेला जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले त्यस्तो समस्या थामचौरमा मात्र सीमित नभई जिल्लाका धेरै बस्तीमा रहेको स्वीकार गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४ औँ साधारणसभा तथा २६ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख थापाले थामचौरको अवस्थाले जिल्लाको वास्तविक चित्र उजागर गरेको बताउनुभयो ।

उहाले रणसिंहकिटेनीको खोलाखर्क लगायतका बस्तीमा थामचौरभन्दा पनि जटिल खानेपानी समस्या रहेको उल्लेख गर्दै सुरक्षित पिउने पानीबाट अझै धेरै नागरिक वञ्चित रहेको जानकारी गराउनुभयो ।

जिल्लाका धेरै ठाउँमा आज पनि थामचौरकै जस्तो अवस्था छ, रणसिंहकिटेनीको खोलाखर्क त थामचौरभन्दा बढी समस्या भएको ठाउँ हो, थापाले भन्नुभयो,–‘स्रोतको अभावलगायत विभिन्न कारणले आज पनि नागरिकले स्वच्छ पिउने पानी पाउन सकेका छैनन् ।’

थापाको यो अभिव्यक्ति बडिगाड गाउँपालिकालाई ‘नेपालकै पहिलो पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका’ घोषणा गरिएको केही दिनमै आएको हो । पोषणमैत्री घोषणा हुनुअघि नै थामचौरका स्थानीय पोखरीको पानी बोकेर पिउँदै गरेको भिडियो सार्वजनिक भएपछि घोषणाको विश्वसनीयतामाथि प्रश्न उठेको थियो ।

समन्वय प्रमुख थापाले सुरक्षित खानेपानीको समस्या समाधानका लागि पत्रकारहरूले अझ सशक्त रूपमा खबरदारी गर्नुपर्ने बताउनुभयो । यस्ता समस्या भएका ठाउँमा पत्रकार पुगेकी पुगेनन् नागरिकले चासोका साथ हेरिरहेका छन् ।

‘जनताका सवाल सार्वजनिक गर्न, कर्मचारी र जनप्रतिनिधिलाई खबरदारी गर्न पत्रकारले अझै मेहनत गर्नुपर्छ । खबरदारी भएकै छैन म भन्दिनँ, तर पुगेको छैन,’ उहाँले भन्नुभयो ।

उहााले खानेपानी मात्र नभई शिक्षा, स्वास्थ्य, सुशासन र विकासका अन्य क्षेत्रमा पनि पत्रकारिताले निगरानीको भूमिका थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

‘शिक्षामा विनियोजन भएको बजेट कहाँ खर्च भइरहेको छ, स्वास्थ्य क्षेत्रमा सेवा कस्तो छ, कर्मचारी र जनप्रतिनिधिले जिम्मेवारीअनुसार काम गरेका छन् कि छैनन् भन्ने विषयमा पत्रकारले खोजी गर्नुपर्छ,’ थापाको सुझाव थियो ।

थापाले जनप्रतिनिधि र कर्मचारीलाई सुधार्न सक्ने सबैभन्दा प्रभावकारी शक्ति स्वतन्त्र पत्रकारिता भएको उल्लेख गर्नु भयो । ‘जनप्रतिनिधि र कर्मचारीलाई कसैले सुधार्छ भने त्यो पत्रकारले मात्रै सुधार्न सक्छ, तर त्यो ताकत संयमित, तथ्यमा आधारित र जनताको समस्या समाधान हुने ढंगले प्रयोग हुनुपर्छ’ थापाले सचेत गराउनुभयो ।

धौलागिरी प्रादेशिक अस्पताल र धौलागिरी बहुमुखी क्याम्पसजस्ता सार्वजनिक संस्थाभित्र रहेका समस्या, सुधारका सम्भावना र बेथितिको खोजी पत्रकारहरूले गर्नुपर्ने सुझाव थापाले दिनु भएको छ । यि ठाउँमा भएका सकारात्मक र नकरात्मक दुवै कामले सिंगो धौलागिरीलाई सचेत बताउछ, उहाँको भनाइ छ ।

थापाले बागलुङका दशवटै स्थानीय तहमा रहेका पर्यटकीय सम्भावनाको प्रचार–प्रसारमा पनि सञ्चारमाध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । पत्रकारिताकै कारण पछिल्लो समय ढोरपाटनको पर्यटन विस्तार भएको उल्लेख गर्दै अन्य गन्तव्यलाई पनि राष्ट्रिय स्तरमा चिनाउन आग्रह गर्नु भयो ।

राजनीतिक परिवर्तनका आन्दोलनमा बागलुङका पत्रकारको योगदान स्मरण गर्दै उहाले राजनीतिक अधिकार खोसिएको समयमा पत्रकारहरु नआएसम्म हामीले आन्दोलन नै शुरु गर्दैन्थ्यौ, पत्रकार नहुदा प्रहरी प्रशासनले राजनीतिक दलका नेता कार्यकर्तालाई अन्धाधुन्ध कुटपिट गर्ने अवस्था थियो, उहाँले विगत कोट्याउनुभयो ।

अबको पत्रकारिता सुशासन, पारदर्शिता, सार्वजनिक सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।