• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

सरकार प्रेस नियन्त्रणतर्फ अग्रसर छ : वरिष्ठ उपाध्यक्ष आचार्य

बागलुङ। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकार प्रेस नियमनका नाममा नियन्त्रणतर्फ केन्द्रीत भएको आरोप लगाउनु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको २६ औं स्थापना दिवस तथा १४ औं साधारणसभाको उद्घाटनपछि बोल्दै आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न भएको बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समाप्त गर्न सरकार उद्दत रहेको छ, राज्यका महत्वपूर्ण निकायहरुको सूचना संकलनमा अवरोध गर्ने, सूचनाको पहुँचमा कडाइ गर्ने लगायतका गतिविधिले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समाप्त पार्नेतर्फ अग्रसर भएको आचार्यको आरोप छ ।

पत्रकारहरुको पेशागत हक अधिकारमाथि हुने कुनै पनि खालका गतिविधिप्रति महासंघ मौन बस्दैन, महासंघले सञ्चालन गरेको आन्दोलनले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र पत्रकारको हकहितलाई सुरक्षित गर्न वाध्य हुने दावी गर्नु भयो ।

हामीले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावकारी बनाउने, मिडियामा भैरहेको लगानीलाई थप व्यवस्थित गराउने गरी कानुन बनाउन सुझाव दिएका छौ, तर सरकार जसका लागि कानुन बनाउने हो, उसलाई वेवास्ता गरेर अगाडि बढ्न खोज्दैछ, स्टेक होल्डरलाई बाहिर राखेर बनाइने कानुन कार्यान्वयन गर्न सकिदैन, आचार्यको भनाइ छ ।
मिडियामा भएको लगानीलाई पारदर्शी बनाउन कानुन बनाऔ भनेकै छौ, भ्रष्टाचारको विरोधमा कानुन बनाऔ भनेकै छौ, तर सरकार नेपाली पत्रकारहरुलाई पेलेर अगाडि बढ्ने मनस्थितिमा देखिएको भन्दै आचार्यले पत्रकार महासंघको आन्दोलनले सरकारलाई सही ठाउँमा ल्याउने दावी गर्नु भयो ।

पत्रकारहरुले समय अनुसारको विषयवस्तुलाई समाचार सामग्री बनाउन तथा प्रविधिको अधिकतम उपयोग गर्न उहाँले सुझाव दिनुभयो ।