• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

एमाले पार्टी पुनर्गठनको मस्यौदा तयार गर्ने जिम्मा बादल र पोखरेललाई

बागलुङ । नेकपा (एमाले)ले पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा थप एकताबद्ध बनाउने उद्देश्यका साथ गठित कार्यदलको बैठक सम्पन्न गर्दै पार्टी पुनर्गठनसम्बन्धी मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा र सदस्य–सचिव तथा महासचिव शंकर पोखरेललाई दिएको छ । बिहीबार सम्पन्न कार्यदलको बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि देशभर सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रमबाट प्राप्त प्रतिवेदनका आधारमा मस्यौदा तयार गर्ने निर्णय गरेको हो ।

कार्यदलले सात प्रदेशका १३ स्थानमा सञ्चालन गरेको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । बैठकले कार्यक्रमको व्यवस्थापनमा खटिएका सबै समिति तथा सहभागी भएर महत्वपूर्ण सुझाव दिने पार्टी नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेको छ । बैठकले सुझाव संकलन अभियानका क्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेल पक्राउ परेको घटनाप्रति पनि गम्भीर असन्तुष्टि जनाएको छ । पौडेलको पक्राउलाई ‘राजनीतिक प्रतिशोधपूर्ण’ भन्दै बैठकले घोर निन्दा र भत्र्सना गरेको छ ।

एमालेले उपाध्यक्ष पौडेलको तत्काल रिहाइको मागसमेत गरेको छ । बैठकको निर्णयअनुसार अब कार्यदलका संयोजक रामबहादुर थापा र सदस्य–सचिव शंकर पोखरेलले सुझाव संकलनबाट प्राप्त प्रतिवेदनको अध्ययन गरी पार्टी पुनर्गठनसम्बन्धी मस्यौदा प्रतिवेदन तयार गर्नेछन् । कार्यदलले संकलन गरेको सुझावका आधारमा तयार गरिने प्रतिवेदन आगामी सचिवालय हुदै केन्द्रीय कमिटी बैठकमा पेश गरिने जनाइएको छ ।

एमालेले पार्टीभित्र वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र आन्तरिक एकतालाई थप मजबुत बनाउन यो कार्यदल गठन गरेको हो ।

पार्टीका नेताहरुले देशका विभिन्न ठाउँमा गरेको सुझाव संकलनका क्रममा अधिकांश नेताहरुले पार्टी पुनर्गठन र रुपान्तरणको सुझाव दिएको स्रोतले बताएको छ ।